नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा धेरै, ३१७ जनाको मृत्यु

146
फाइल तस्विर

भदौ २५,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ । नेपालमा पहिलो पटक ०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको उहानबाट आएका ३२ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो। यसो त कोरोनाको उद्गमथलो समेत उहान नै हो । त्यससता नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गर्ने जस्ता कदम चालिएपनि कोरोना न्यूनीकरण भने हुन सकेको छैन । बरु पछिल्लो समय संक्रमण थप तीव्र गतिमा फैलिएको छ ।