Saturday, October 3, 2026
Home समाचार नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा धेरै, ३१७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा धेरै, ३१७ जनाको मृत्यु

152
फाइल तस्विर

भदौ २५,
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ । नेपालमा पहिलो पटक ०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको उहानबाट आएका ३२ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो। यसो त कोरोनाको उद्गमथलो समेत उहान नै हो । त्यससता नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गर्ने जस्ता कदम चालिएपनि कोरोना न्यूनीकरण भने हुन सकेको छैन । बरु पछिल्लो समय संक्रमण थप तीव्र गतिमा फैलिएको छ ।