भदौं ११,
भक्तपुर । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा रहेका दुई जनामा कोरोना संक्रमण भएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ४, दधिकोटमा रहेको हितैसी सहकारीको करिब ३ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा ७ जना महानगरिय प्रहरी वृत्त थिमिको हिरासतमा छन् । सो हिनामिनामा आरोप लागेका ८ जना प्रतिवादी भएपनि १ जना फरार रहेका छन् । ६ जना पुरुष र १ जना महिला प्रहरीको हिरासतमा रहेको छन् । जसमध्य ३२ वर्ष र ३८ वर्षका दुई जना पुरुष ओरोपीहरुको कोरोना परिक्षणका लागि पीसीआर गर्दा नजिता पोजेटीभ आएको हो ।
उनीहरुलाई कोरोना पोजेटीभ देखिएकाले अभियोग पत्र फिर्ता गरिएको जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी बिमल पराजुलीले जानकारी दिएका छन् ।
‘३२ वर्ष र ३८ वर्षका प्रतिवादीहरु दुई जनामा कोरोना पोजेटीभ देखिएकाले सरकारी वकिलको कार्यालयमा अभियोग पत्र फिर्ता गरिएको हो,’ पराजुलीले भने । अदालतद्धारा जारी पत्रमा भनिएको छ, प्रतिवादीहरु मध्यका दुई जनामा कोरोना पोजेटीभ देखिएको भन्ने रिर्पोट मिसिल संग्लन रहेको देखिदा नीजहरुको आवश्यक स्वास्थ्य मापदण्ड अनुसार उपचार गरि पूर्ण स्वास्थ्य भएपछि अदालतमा पेश गर्नु ।
उनीहरु संगै रहेका अन्यको समेत स्वास्थ्य परिक्षण गरेर मात्र अदालतमा पेश गर्न भनिएको छ । फौजदारी कार्यविधी संहिता २०७४ को दफा १८२, कार्यविधी नियमावली नियम ४७ र जिल्ला अदालतको नियमावलीको नियम ३२ बमोजिम अभियोग पत्र फिर्ता गरिएको सूचना अधिकारी पराजुलीको भनाई छ । उनले भने ‘२५ दिनदेखि प्रहरी हिरासतमा रहेको आरोपीहरुमा कोरोना देखिनुले प्रहरी समेत थप सचेत हुनु पर्ने अवस्था आएको छ ।’
विगत २५ दिनदेखि नै प्रहरीको हिरासतमा रहेका उनीहरुलाई कहाँबाट संक्रमण भयो भन्ने तथ्य खुल्न नसकेको वृत्तका प्रमुख डीएसपी ऋषिराम कँडेलले जानकारी दिए । केही समय अगाडी मात्रै थिमि वृत्तका ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । बितेको २४ घण्टामा उपत्यकमा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै २७० जना रहेका छन् भने ललितपुरका ६६ र भक्तपुरमा ४१ जना संक्रमित रहेका छन् ।