आयल निगमका ९ जना कर्मचारीलाई कोरोना संक्रमण

181

भदौं ९,
काठमाडौं । देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने अमलेखगञ्ज डिपो र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोमबार प्राप्त रिपोर्टमा अमलेखगञ्ज डिपोमा कार्यरत ६ जना र मातहतको वीरगञ्ज कार्यालयमा कार्यरत ३ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

संक्रमणपछि दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र वीरगञ्ज कार्यालय तीन दिनका लागि बन्द गरिएको उपाध्यायले जानकारी दिए । संक्रमित कर्मचारीलाई उपचारसहितको आसोलेसनमा राखिएको र संक्रमितको सम्पर्कमा रहेका दुवै कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरेर काममा फर्काइने निगमले जनाएको छ ।

काठमाडौं, पोखरा, जनकपुर, बुटवलसहितका मुख्य सहरमा अमलेखगञ्ज डिपोबाट नै डिजेल–पेट्रोल वितरण हुन्छ । १९ सय किलोलिटर पेट्रोल र २० हजार किलोलिटर डिजेल भण्डार क्षमताको डिपो नेपाल–भारत पहिलो पेट्रोलियम पाइपलाइनसँग जोडिएको छ ।

मुख्य आपूर्ति प्रणालीमा नै प्रभाव पर्ने गरी संक्रमित फेला परेपछि निगमले थप मद्दत टोली काठमाडौंबाट पठाउने भएको छ । डिपो सञ्चालनका लागि १० जनाको टोली पठाउन लागिएको निगमले जनाएको छ । अमलेखगञ्जसहित देशभरका डिपोमा पर्याप्त इन्धन मौज्दात रहेकाले अभाव नहुनेमा विश्वस्त हुनगमले आग्रह गरेको छ ।