मुगु पुगेर उपचार गर्दै डा. केसी

साउन २६,
मुगु । छायाँनाथ रारा नगरपालिका–१ श्रीनगर गाउँका ३८ वर्षीय मोहन कुमार मल्लका पिँडुला हिँडडुल गर्दा, चिसो लाग्दा दुख्थ्यो। पिँडुला दुख्दै आएको ५ वर्ष भइसकेको थियो। शुक्रबार जिल्ला अस्पताल मुगुमा चलेको शिविरमा पिडौलाको चेकजाँचपछि उनले तिघ्रा तल, घुँडामाथिको हड्डी चर्किएकाले लामो समय आराम गर्नु पर्ने सल्लाह पाए। त्यही नगरपालिका–७ बालौ गाउँका १७ वर्षीय गगन भामको बायाँ खुट्टामा संक्रमण भएर सुन्निने, दुखिरहने लामै समय भएको थियो। आर्थिक अवस्था कमजोर भएकाले पीडा सहँदै आएका उनको शनिबार दिउँसो निःशुल्क शल्यक्रिया गरेपछि सुधार हुन थालेको छ। वडा नं १० घट्लेखकी १० वर्षीया रेश्मा भामको ३ वर्षअघि वनमा गाईवस्तु चराउन जाँदा लडेर देब्रे हात भाँचिएको थियो। दुर्गमकी उनले गरिबीकै कारण समयमा उपचार हुन सकेन।

बांगिएको हातको पीडा सहँदै आएकी उनको पनि शल्यक्रियापछि वर्षौंदेखिको पीडा हटेको छ। अब बांगिएको हात पनि सोझिने भएको छ। यी तीन घटना प्रतिनिधि मात्रै हुन्। गत बुधबार मुगु पुगेका प्राध्यापक डाक्टर गोविन्द केसीले जिल्ला अस्पताल मुगुमा बिहीबारबाट हाडजोर्नी शिविर शुरु गरेपछि भाम, मल्ल जस्तै हाडजोर्नीको समस्या झेल्दै आएकाले निःशुल्क उपचार सेवा पाएका छन्। दुर्गमका स्थानीयले लडेर अंगभंग हुँदा समयमै उपचार नपाएर अपाङ्ग शरीरसहित बाँच्न बाध्य थिए। हुने खानेले समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्ने गरेका छन्। तर यहाँका अधिकांश जनता गरिब भएका कारण हाडजोर्नी लगायत अन्य रोग लाग्दा गाउँमै पुरानो प्रविधि र जडीबुटीबाट उपचार गर्ने गरेका छन्। -थाहा खबरबाट