‘बजारमा किनमेल गर्दा कस्तो सावधानी अपनाउने’

121

-बीबीसी 

साउन ५, काठमाडौं । मास्क लगाएर तरकारी पसल अगाडि उभिएकी इलाम नगरपालिकाकी ओममाया गुरुङलाई धेरै बेर लगाएर छानीछानी तरकारी फलफूल किन्न भन्दा किनमेल सकाएर घर फर्कन हतारो छ। पहिला छानीछानी तरकारी फलफूल खरिद गर्ने उनी अचेल पसलेले छानेर जोखिदिएको तरकारी फलफूलमै चित्त बुझाएर घर फर्किने गर्छिन्। बजारबाट सङ्क्रमण घर पुग्ने हो कि भन्ने चिन्ताले उनी जस्ता उपभोक्तालाई आजकल सताएको छ।

उनी भन्छिन्, “म त अलग दूरी कायम गरेर नै हिँडिराखेकी छु, अब घर गएर साबुन पानीले हात धुन्छु। बजारमा मान्छेहरू ठेलाठेल गरेर हिँडिरहेको देख्दा डर लाग्छ।’स्वास्थ्य सुझाव पालना गर्न उदासिन इलाम शान्तिडाँडाकी कमला राई पहिला नै किनमेल गरेर राखिएका नुन, तेल, सलाई, साबुन जस्ता अत्यावश्यक सामग्री सकिएपछि बजार आएको बताउँछिन्। तर मानिसको भिडभाड देखेर सङ्क्रमण फैलन सक्ने चिन्ताले झोला नभरीकनै घर फर्किन लागेको उनले बताइन्।

उनी भन्छिन् पैसा दिँदा पनि कोरोनाभाइरस सर्छ भन्ने छ त्यसैले के गर्ने हो भन्नेमा अलमलमा छौँ। पसलमा आउने करिब ४० प्रतिशत उपभोक्ता विना सावधानी किनमेल गर्न खोज्ने गरेको कतिपय व्यवसायीहरू बताउँछन्। इलाम धोबीधाराकी कमला भट्टराई भन्छिन् ‘हाम्रो ग्यास र खाद्यान्नको पसल हो। हामी मास्क र पञ्जा लगाएर बस्छौँ। हात पनि धोइरहन्छौँ। पसलमा साबुनपानीको व्यवस्था पनि गरेका छौँ। डोरी लगाएर पसलमा एक मिटरको दूरी पनि कायम गरेका छौँ तर कतिपय ग्राहकहरू दूरी पार गरेर भित्रै सम्म आउन खोज्नुहुन्छ। हात कति धोइरहनु अघि पनि धोएको भन्नेहरू पनि हुनुहुन्छ।’

के अबको हाम्रो सामान्य जीवन यस्तै हुने हो त
इलामका कतिपय तरकारी बजार, खाद्यान्न, लत्ताकपडाजस्ता पसलमा कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न पर्याप्त सावधानी अपनाएको देखिँदैन। विश्व स्वास्थ्य सङ्गठनले बारम्बार साबुनपानीले हात धुन र सामाजिक दूरी कायम गर्न भनेको छ । तर यहाँ कतिपय उपभोक्ता र पसल सञ्चालकहरू न्यूनतम सावधानी पनि नअपनाई बजारमा किन्ने र बेच्ने काम गरिरहेका भेटिन्छन्।

‘संसारले मानेका’ सुरक्षाका उपाय पालना गरौँ’
लकडाउन खुकुलो भएपछि बजारहरूमा हेलचेक्रयाइँ देखिएकाले उपभोक्ता र बिक्रेता दुवै सावधान हुनु जरूरी रहेको इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रभु शाह बताउँछन्।

उनले भने,’विश्वले मानिरहेको कुरा हामीले पनि मान्नुपर्छ। पसलको अगाडि कम्तीमा तीन फीट दूरी राखेर बार लगाउने, त्यसको पछाडि मार्करले गोलो घेरा लगाउने र पसलमा आउने ग्राहकलाई पालैपालो तीनतीन फीटमा उभिन लगाउनुपर्छ। कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाका उपाय नअपनाइकन कुनै पनि काम गर्न ठीक हुँदैन।’ धेरै मानिसहरूले तरकारी फलफूलको सतहमा कति समय कोरोनाभाइरस बस्छ भन्ने कुराकोबारे अनभिज्ञता जनाएका छन्। तर तरकारी फलफूलहरूमा विषादीको मात्रा पनि हुने भएकोले जेसुकै भए पनि तरकारी फलफूलहरु राम्रोसँग धोएर मात्र खान उपयुक्त हुने चिकित्सकहरू बताउँछन्।

जिल्ला अस्पताल इलामकी मेडिकल अधिकृत डाक्टर दीपिका रिजाल भन्छिन् ‘पकाउनुअघि तरकारीलाई आधा घण्टा वा २० मिनेट जति नुन पानीमा डुबाएर राख्न सकिन्छ। त्यसो गर्दा त्यसमा भएको विषादी अथवा अन्य फोहोरहरू निस्कन्छ भन्ने विश्वास गरिन्छ। कोरोनाभाइरसकै लागि भन्दा पनि अन्य कीटाणुको र विषादीको लागि पनि काम गर्ने भएकोले यो उपाय हामीले अपनाउनु राम्रो हुन्छ।’

विज्ञहरूका अनुसार हाल महामारीको रूप लिएको कोरोनाभाइरससम्बन्धी अनुसन्धानहरू अझै भइरहेकाले त्यसबाट प्राप्त हुने ज्ञानका आधारमा व्यवहार बदल्नुपर्ने हुन्छ। पछिल्लो समयमा वैज्ञानिकहरूले हावाबाट पनि उक्त महामारी सर्ने भनेकाले विश्वका विभन्न ठाउँहरूमा मास्कको प्रयोगमा बढी प्रोत्साहन गरिएका विवरण आएका छन्।