उद्योग वाणिज्य महासंघ दुई ध्रुवमा विभाजित

377

साउन २,
काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभाको कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि होड चल्न थालेको हो । त्यसो त महासंघको विधानले वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण अध्यक्ष पदका लागि विवाद वा प्रतिस्पर्धा छैन । विधानको त्यही प्रावधानका कारण वरिष्ठ उपाध्यक्ष पदका लागि भने उद्योगी व्यवसायीहरुबीच प्यानल बनाएरै प्रतिस्पर्धा हुन थालेको छ । यस्तो प्रतिस्पर्धाले सिंगो महासंघलाई दुई ध्रुवमा विभाजित तुल्याएको छ ।

महासंघले यही श्रावण २६ र २७ गतेका लागि संगठनको ५४औं साधारण सभा र नयाँ नेतृत्वका लागि निर्वाचनको समय तालिका सार्वजनिक गरिसकेको छ । चुनावको समयतालिका सार्वजनिक भएसँगै व्यवसायीहरु संगठनको नेतृत्व आफ्नो पक्षमा पार्न कम्मर कसेर लागि परेका छन् । संगठनमा आफ्नो पकड दरिलो बनाउन व्यवसायीहरु प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । परिणामस्वरुप महासंघ यतिबेला स्पष्ट देखिने गरी दुई पक्षमा विभक्त छ ।वरिष्ठ उपाध्यक्ष पदमा अहिले दुई जना मैदानमा उत्रिएका छन् । दुवैले प्यानल बनाएरै आपसमा चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । एकतर्फको प्यानलको नेतृत्व चन्द्रप्रसाद ढकालले र अर्कोतर्फको नेतृत्व किशोर प्रधानले गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालको प्यानलमा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी चुनावी मैदानमा होमिएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारी घोषणा गरेका प्रधानको प्यानलमा भने वस्तुगत तर्फ अञ्जनकुमार श्रेष्ठ, एशोशिएटमा सौरभ ज्योति र जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।