भारतमा कसरी भयो रेल दुर्घटना ? अहिलेसम्म कति भए ठुला रेल दुर्घटना ?

40

एजेन्सी । भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २६१ जनाको मृत्यु भएको र ६५० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो।एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ। यो भारतमा भएको विगत चार दशकयताकै सबैभन्दा खराब रेल दुर्घटना हो।

शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका धेरै डिब्बाहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे पटरीबाट बाहिर खसेका थिए। तीमध्ये केही विपरीत ट्र्याकमा पुगेका थिए भन्ने अनुमान गरिएको छ। अर्को रेल हावडा सुपरफास्ट एक्सप्रेस यशवन्तपुरबाट हावडा जाँदै थियो र त्यो पल्टिएका डिब्बामा ठोक्किन पुग्यो भनिएको छ।उक्त घटनामा बाँचेका एक पुरुष यात्रुले भने,  दुर्घटना हुँदा १०/१५ जना ममाथि खसेका थिए। कोलाहल मच्चियो। म मानिसहरूको थुप्रोमा सबैभन्दा तल थिएँ।

मेरो हात र घाँटीको पछाडिपट्टि चोट लागेको छ। रेलको डिब्बाबाट बाहिर निस्किँदा मैले कसैले हात अनि कसैको खुट्टा गुमाएका र कसैको अनुहार विकृत भएको देखेँ, उनले भारतको एएनआई समाचार संस्थालाई भने। दुर्घटनापछि ओडिशा राज्यमा एक दिनको शोकको घोषणा गरिएको छ। भारतीय अधिकारीहरूका अनुसार घटनास्थलमा रोकिएको अवस्थामा भएको अर्को सामानवाहक रेलमा पनि ती दुई रेलका डिब्बाहरू ठोकिन पुगेको बताएका छन्।

पछिल्ला वर्षमा भारतमा भएका केही ठूला रेल दुर्घटना

  • १९ अगस्त २०१७: उत्तर प्रदेशको मुजफ्फरनगरको खतौली नजिक कलिंगा-उत्कल एक्सप्रेसको १४ डिब्बा लिकबाट बाहिर खसेका थिए। पुरीबाट हरिद्वार जाँदै गरेको त्यो रेल दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो।
  • २२ जनवरी २०१७: आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा हिराखण्ड एक्सप्रेसका आठवटा डिब्बा लिकबाट बाहिर खस्दा करिब ३९ जनाको मृत्यु भएको थियो।
  • २० नोभेम्बर २०१६: कानपुर नजिकै पुख्रायनमा एउटा ठूलो रेल दुर्घटना भयो त्यसमा कम्तीमा १५० जना मानिसको मृत्यु भयो। पटना–इन्दौर एक्सप्रेसका १४ डिब्बा लिकबाट बाहिर खसेका थिए।
  • २० मार्च २०१५: देहरादूनबाट वाराणसी जाँदै गरेको जनता एक्सप्रेस दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो।
  • ४ मे २०१४: नागोठाने र रोहा स्टेशनहरू बीच दिवा सावन्तवाडी यात्रुवाहक रेल दुर्घटनामा २० जनाको ज्यान गएको थियो भने एक सय जना घाइते भएका थिए
  • २८ डिसेम्बर २०१३: बैङ्गलोर-नान्देड एक्सप्रेस ट्रेनमा आगलागी हुँदा २६ जनाको मृत्यु भयो। सोही वर्ष अगस्ट १९ मा बिहारको खगरिया जिल्लामा राज्यरानी एक्सप्रेसको ठक्करबाट २८ जनाको ज्यान गएको थियो।
  • ३० जुलाई २०१२: भारतीय रेलवेको इतिहासमा सन् २०१२ दुर्घटनाको हिसाबले सबैभन्दा खराब वर्षहरूमध्ये एक थियो। त्यो वर्ष करिब १४ वटा रेल दुर्घटना भएका थिए। यसमा लिकबाट बाहिर जाने र रेलले ठक्कर दिएका घटनाहरू छन्। ३० जुलाई २०१२ मा नेल्लोर नजिकै दिल्ली-चेन्नई तमिलनाडु एक्सप्रेसको एउटा कोचमा आगलागी हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।
  • ७ जुलाई २०११: उत्तर प्रदेशमा रेल र बस ठोक्किँदा ३८ जनाको मृत्यु भएको थियो।
  • २० सेप्टेम्बर २०१०: ग्वालियर इन्टरसिटी एक्सप्रेस मध्य प्रदेशको शिवपुरीमा सामान बोकेको रेलसँग ठोक्कियो। उक्त दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो भने १६० जनाभन्दा बढी घाइते भएका थिए।
साङ्केतिक तस्बिर
साङ्केतिक तस्बिर

तस्बिर स्रोत,GETTY IMAGES

  • १९ जुलाई २०१०: उत्तर बङ्ग एक्सप्रेस र वनञ्चल एक्सप्रेस पश्चिम बङ्गालमा ठोक्कियो। ६२ जनाको मृत्यु भयो भने १५० भन्दा बढी घाइते भए।
  • २८ मे २०१०: पश्चिम बङ्गालमा संदिग्ध माओवादी हमलामा ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर खस्दा १७० जनाको मृत्यु भएको थियो।
  • २१ अक्टोबर २००९: गोवा एक्सप्रेसको इन्जिन उत्तर प्रदेशको मथुरा नजिकै मेवाड एक्सप्रेसको अन्तिम डिब्बासँग ठोक्कियो। उक्त घटनामा २२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।
  • १४ फेब्रुअरी २००९: हावडाबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसका १४ डिब्बा ओडिशाको जाजपुर रेलवे स्टेशन नजिकै लिकबाट खसेका थिए। दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए।
  • अगस्ट २००८: सिकन्दराबादबाट काकीनाडा जाँदै गरेको गौतमी एक्सप्रेसमा राति अबेर आगलागी भयो। जसका कारण ३२ जनाको ज्यान गयो भने धेरै घाइते भए।
  • २१ अप्रिल २००५: गुजरातको वडोदरा नजिक साबरमती एक्सप्रेस र सामान बोकेको रेलसँगको ठक्करमा कम्तीमा १७ जनाको मृत्यु भयो र ७८ अन्य घाइते भए।
  • फेब्रुअरी २००५: महाराष्ट्रमा रेल र ट्रयाक्टरको ठक्करबाट कम्तीमा ५० जना मारिए र धेरै घाइते भए।
  • जुन, २००३: महाराष्ट्रमा रेल दुर्घटनामा ५१ जनाको मृत्यु भयो र धेरै घाइते भए।
  • २ जुलाई २००३: आन्ध्र प्रदेशको हैदरावादबाट १२० किलोमिटर टाढा वारङ्गलको ओभरब्रिज मुनि गोलकोन्डा एक्सप्रेसको दुईवटा डिब्बा र इन्जिन सडकमा खसे। दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।
  • १५ मे २००३: पञ्जाबको लुधियाना नजिकै फ्रन्टियर मेलमा आगलागी भयो। कम्तीमा ३८ व्यक्ति मारिए।
  • ९ सेप्टेम्बर २००२: हावडाबाट नयाँ दिल्ली जाँदै गरेको राजधानी एक्सप्रेस दुर्घटना भयो। जसमा १२० जनाको मृत्यु भएको थियो ।
  • २२ जुन, २००१: मंगलोर-चेन्नई मेल केरलाको कादलुन्डी नदीमा खस्दा ५९ जनाको मृत्यु भएको थियो।
  • ३१ मे २००१: उत्तर प्रदेशको रेलवे क्रसिङमा रोकिएको बससँग रेल ठोक्किएपछि ३१ जनाको मृत्यु भएको थियो। – BBC