देशभर बाढीपहिरोः अहिलेसम्म २३ जनाको मृत्यु, ३६ जना बेपत्ता

218
सांकेतिक तस्विर

असार २६,
काठमाडौँ । निरन्तरको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र ८ जिल्लामा बाढीपहिरो गएको छ । पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने २६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

गौतमकाअनुसार म्याग्दीको धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजीकार्य जारी छ । म्याग्दीमा पहिरोमा ३५ घर समेत पुरिएको छ । यस्तै लमजुङको बेशीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले पुरिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कास्कीको पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडामा पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
सराङकोटमा पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन् । रुकुम पश्चिममा पनि पहिरो गएको छ । आटबिसकोट नगरपालिका–३ रजेखोलामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ पुल्चोक र हिलेवस्तीमा पहिरो गएको छ । दर्जनौं घरहरुमा क्षति पुगेको छ । यद्यपी मानविय क्षती भने भएको छैन । त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरो गएको छ । पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । यस्तै पाँजना घाइते भएका छन् । यसैगरी दोलखामा पनि पहिरो गएको छ । दोलखाको निरी नगरपािलका –५ लिडकलमा पहिरो गएको हो । पहिरोले २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।

यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा पनि पहिरो गएको छ । पहिरोमा एकजनाको मृत्यु भएको छ । बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन् । झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आह्वान समेत गरेको गौतमले बताए । बेपत्ताहरुको उद्धार र खोजबिनमा स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् । -Ratopati