रेणु दाहालको महानगरमा गरिबमाथी अत्यचार

275

असार २, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो । घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको छ ।

वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको समितिले पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको छ । सो घरमा दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेका उनका ५२ वर्षीय छोरा पदमराज अधिकारी बस्दै आएका छन् । अनलाइन खबरडटकम लेख्छ, खानेपानीको पाइप बिछ्याउने बेलामा घरको गाह्रो नै भत्काइएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।

खानेपानीको पाइपलाइन विस्तारको क्रममा घरको दायाँतर्फ थोरै भाग घुमाएको भए घर खन्न पर्ने अवस्था नआउने स्थानीय तथा अधिवक्ता नारायण गिरीले बताए । वडा नम्बर २१ का वडा अध्यक्ष अधिकारीले आफूबाट गल्ती भएको भन्दै सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गरेका छन् । यो घटना कसरी भयो भनेर आफैंलाईसमेत थाहा नभएको र सामाजिक सञ्जालमा फोटाहरु आएपछि मात्रै थाहा पाएको वडा अध्यक्षले बताएका छन् ।