‘मोटरसाइकल चढायो, सीमा कटायो’

254

फागुन १४,
विराटनगर । नेपाल प्रहरी र माइती नेपाल लगायतका संघ संस्थाले नाका क्षेत्रमा कडाइ गर्न थालेपछि मानव तस्करहरुले सीमा पार गर्ने तरिकामा पनि परिवर्तन गरेका छन् । महिलाहरुलाई सीमा कटाउन पछिल्लो समय मोटरसाइकल प्रयोग गरेको पाइएको छ । पूर्वको रानी र काँकडभिट्टा नाकाबाट माइती नेपालले एक वर्षमा २९४ जना महिलालाई उद्दार गरेको छ । २०१९ को जनवरीदेखि डिसेम्बरसम्म उद्दार गरिएका उनीहरुलाई सडक मार्ग भएर भारत लाने क्रममा उद्दार गरिएको हो । उनीहरु सबै १८ वर्षभन्दा माथिका छन् ।

यही अवधिमा नेपाली महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी मानव बेचबिखन गर्न खोजेको आरोपमा ४१ जना पक्राउ परेका छन् र उनीहरुलाई मुद्दा चलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरु पूर्वी नेपालका नाकाबाट नेपाली महिलाहरुलाई सीमा कटाउने क्रममा पक्राउ परेका थिए ।

सिन्धुपाल्चोक मेलम्चीकी रञ्जना तामाङका श्रीमान मजदुरी गर्छन् । श्रीमानको कमाइले मात्र घर व्यवहार चलाउन कठिन भएपछि रञ्जनाले नावालक छोरो छोडेर उनी वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने निधो गरिन् । त्यही क्रममा उनको लाक्पा लामासँग भेट भयो, उनले कुवेतमा राम्रो आम्दानी हुने लोभ देखाए । तीन वर्षको छोरालाई श्रीमानको जिम्मा लगाएर रञ्जना २८ माघमा सिन्धुपाल्चोकबाट कुवेतका लागि हिँडिन् । उनी त्रिभुवन विमानस्थलबाट उडिनन् । सडक मार्ग प्रयोग गरेर विराटनगरको रानी नाका हुँदै दिल्ली पुर्‍याउने दलालको योजना थियो । त्यहीअनुसार उनी काठमाडौंबाट विराटनगर पुगिन् । विराटनगरको नाका कटाउने क्रममा उनको उद्दार भयो ।

‘केही कमाइ होला भनेर हिँडेको, यस्तो दुःख पाउने भए त किन आउँथे ?’ उद्धारपछि उनले भनिन् । सिन्धुपाल्चोककी फुलमाया तामाङ २ फागुनमा कुवेत जाने योजनाका लागि दिल्ली हिँडेकी थिइन् । सामान्य चिनजानका दिनेश लामाले उनलाई कुवेतमा राम्रो कमाइ हुने आश्वासन दिएपछि उनी पढाइ छाडेर हिँडेकी थिइन् । उनलाई पनि विराटनगरको रानी नाका हुँदै सीमापारी पुर्‍याउन खोजिएको थियो । तर उनको उद्दार गरिएको छ । । ‘मालिकले छिटो आइज घरको काम हो भनेपछि हिँडेको हुँ,’ उद्दार गरिएकी फुलमायाले भनिन्, ‘अब घर फर्किन चाहन्छु ।’

धादिङकी मन्दिरा सुनुवारको रुपा विकसँग चिनजान भयो । कुराकानीका क्रममा रुपाले कलकत्तामा राम्रो कमाइ हुने भन्दै काम लगाइदिने आश्वासन दिइन् । र, भारत लैजान ८ फागुनमा विराटनगर ल्याइपुर्‍याइन् । सीमा कटाउने क्रममा उनलाई साथ दिन विराटनगरका विष्णु मण्डल थपिए । तर रानी नाका पार गर्ने क्रममा माइती नेपालले उद्दार गर्‍यो । उनलाई घर फर्काइएको छ भने रुपा र विष्णु एक दिन प्रहरी हिरासतमा बसे ।

नेपाली महिलाहरुलाई दलालहरूले भारतको बाटो भएर कसरी खाडी मुलुक पुर्‍याउँछन् भन्ने उदाहरण हुन् माथिका घटना । सरकारले महिलालाई रोजगारका लागि खाडी मुलुकमा जान प्रतिबन्ध लगाएको छ । तर पछिल्लो समय सडकमार्ग हुँदै भारतको आसाम, मणिपुर, मिजोरम हुँदै म्यानमार पुर्‍याउने र त्यहाँबाट श्रीलंका हुँदै खाडी मुलुक पुर्‍याउन गिरोह सक्रिय देखिएको छ । -onlinekhaabr