Wednesday, October 28, 2026
Home अर्थ बंगुर अज्ञात रोग लागेर मर्न थालेपछि किसान चिन्तित

बंगुर अज्ञात रोग लागेर मर्न थालेपछि किसान चिन्तित

439

बैशाख ३०,
धनकुटा । अज्ञात रोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फर्ममा बंगुरका पाठापाठी र माउ मर्न थालेका छन्‌। वर्षेनी दिने गरिएको खोप यो वर्ष लकडाउनका कारण ल्याउन नपाउँदा साँघुरीगढी गाँउपालिका ५ ओख्रेका बंगुरपालक किसान गोविन्द प्रसाद थापा मगरका बंगुरका पाठापाठी र माउ मरेका हुन। करिब ६ वर्षदेखि बंगुरपालन सुरू गरेका मगरले बंगुरमा वर्षेनी लगानी बढाउदै लगेका भएपनि यो वर्ष भने नसोचेको क्षति व्यहोर्नुपरेको छ। वैशाखको पहिलो हप्तादेखि बंगुरमा रोगको संक्रमण देखिन सुरू गरेको र उच्च ज्बरो आउने, आहारा नखाने, झोक्राउने, छेरौटी लाग्ने लगायतका लक्षण देखिने र लक्षण देखिएको ४८ घण्टामा मर्ने गरेका छन्‌। हालसम्म ५० पाठापाठी, ८ माउ र एक बिर गरी जम्मा ५९ बंगुर मरेको मगरले बताए। रोगको संक्रमण अहिले अन्य बंगुरका माउमा पनि देखिन थालेको छ। बंगुरका पाठापाठी मर्दा ५ लाख रुपैयाँ आर्थिक नोक्सानी भइसकेको मगरले बताए। लकडाउनका कारण रोगविरुद्धको भ्याक्सिन खोप लगाउन नपाएको उनले दुस्खेसो गरे। मगरको फर्ममा २५ वटा भन्दा वढी प्रजनन भएका बंगुरका माउ रहेका छन्‌। आम्दानी दिने बेला धमाधम बंगुर मर्दा चिन्ताले सताउन थालेको उनले बताए। फार्म मुनिको जग्गामा मरेको बंगुर गाड्दा आँशु आएको उनले बताए। रोग संक्रमण अन्य ठाउँमा सर्छ सम्भावना भएको कारण उनले फार्मको बंगुरका पाठापाठी विक्रीमा रोक लगाएका छन्‌।