पास छ ? भएपनी उपत्यका प्रबेशमा “नोइन्ट्री”

252

वैशाख २३,
काठमाडौँ । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।
-रासस