नेकपाको कोटेश्वर बैठकः केन्द्रीय मन्त्रीमात्र होइन, प्रदेशका मुख्य मन्त्री फेरिदैं

147

बैशाख १५,
काठमाडौं । केही दिन यता नेपाल कम्युनिष्ट पार्टी( नेकपा) भित्र आन्तरिक किचलो बाहिर आइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला वरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँटमा केन्द्रित बनेका छन् । कहिले बालुवाटार बोलाएर त कहिले आफ्ना विश्वास पात्रहरूलाई कोटेश्वर पठाएर माधव नेपाल फकाउन ओली केन्द्रित देखिएका छन् । पार्टीभित्रैका नेताबाट शक्ति सन्तुलन र बाँडफाँटका विषयलाई लिएर चौतर्फी घेराबन्दीमा परेका ओलीले यति बेला नयाँ रणनीति अपनाएका छन् ।

पार्टीमा चौथो वरीयतामा पछारिएका माधवकुमार नेपाल यही समयमा आफ्नो स्थान केन्द्रित गर्न केन्द्रित भएका छन् । सोमबार २ पक्षीय छलफलमा प्रधानमन्त्रीमार्फत पठाइएका ४ सन्देशसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेललगायतका नेताले नेपालसहित उनी पक्षधर नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्दै गर्दा आफूलाई के भन्ने विषयमा माधवकुमार नेपाल लागिररहेको सन्दर्भमा ओलीले माधवकुमार नेपाललाई ‘प्लस’ गर्न ४ वटा ठोस प्रस्ताव पठाएका छन् ।

बालुवाटारबाट केपी ओलीले पठाएको पहिलो प्रस्ताव ३ अध्यक्षको व्यवस्था गरिने हो । नेकपाको विधानले २ अध्यक्षको परिकल्पना गरेको छ । १ अध्यक्षले राजीनामा दिन चाहे अर्को अध्यक्षलाई दिन सक्ने व्यवस्था गरेको छ । तर, पार्टी अध्यक्षसमेत रहेका ओलीले विधान संशोधन गरेर ३ अध्यक्ष बनाउने र तेस्रो अध्यक्षको रूपमा माधव नेपाललाई बनाउने प्रस्ताव अघि सारेको बैठकमा सहभागी १ नेताले जानकारी गराएका छन् ।

दोस्रो प्रस्तावको रूपमा केन्द्र र प्रदेशको समेत मन्त्रिपरिषद् हेरफेर गर्ने रहेको छ । ओलीले प्रदेशमा मुख्यमन्त्रीसमेत फेरबदल गरेर कतिपय ठाउँमा नेपाल पक्षलाई दिन तयार रहेको सन्देश पठाएका छन् ।
जसअनुसार उनी प्रदेश ३ बाट डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गर्न लगाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन तयार रहेको सन्देश पठाएका छन् । प्रदेश ५ मा पनि मुख्यमन्त्री फेरबदल गर्न तयार रहेको बताइएको छ । त्यस्तै, केन्द्र सरकारमा मन्त्रिपरिषद् फेरबदल गर्न तयार रहेको प्रस्तावमा उल्लेख छ ।

ओलीले पठाएको तेस्रो प्रस्ताव सरकार सञ्चालनको संयन्त्र तयार गर्ने हो । यसअन्तर्गत सरकारलाई सहयोग गर्न पार्टीको बेग्लै संयन्त्र बनाउने र सहमतिमा संयन्त्रको नेतृत्व तय गर्न ओली सहमत भएका छन् । प्रस्ताव ४ को रूपमा सचिवालयको संख्या बढाएर नेपाल पक्ष र पुष्पकमल दाहाल प्रचण्ड पक्षका केही नेतालाई स्थान दिन ओली तयार रहेको सन्देश पठाइएको छ । सचिवालयमा भीम रावल, जनार्दन शर्माका साथै घनश्याम भुसाल या योगेश भट्टराईलाई ल्याउन सकिने ओलीको बुझाइ छ ।

प्रधानमन्त्री ओलीले राखेका चारवटै प्रस्तावमा माधव नेपालले भने निचोड दिन सकेका छैनन् । उनले १ व्यक्ति १ पदअनुसार जान सक्दा पार्टी र सरकार दुवै बलियो हुने राय दिएको बैठकमा सहभागी १ नेताले जानकारी गराए । यस विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहालसँगसमेत छलफल गरेर भोलि बस्ने सचिवालय बैठकमा थप छलफल गर्ने नेपालको प्रस्ताव छ ।