लकडाउनमा सिटौलाको छोराको बिहे, बिहे खर्च राहत कोषलाई

225

बैशाख १५,
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी छोराको बिहे सम्पन्न गराएका छन् । आइतबार झापा बिर्तामोडकी मनिषा विमलीसँग सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको बिहे भएको हो । सिटौलाका अनुसार तीन महिनाअघि नै बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरिएको हो ।

छोरोका विहेका लागि बैशाख १२ गते उनी काठमाडौंबाट गृहजिल्ला झापा भएको थिए । लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरिएको सिटौलाले जानकारी दिए । उनका अनुसार आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको र दुलहीका घरमा पनि १० जनामात्रै भेला भएका थिए। जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर लगाइएको थियो।

सिटौलाले छोरोको बिहे खर्चवापतको रकम आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको कोरोना राहत कोषलाई हस्तान्तरण गरेका बताए । झापाका विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका र हल्दिवारी गाउँपालिकालाई समग्रमा पाँच लाख राहत रकम दिइएको उनले बताए । यता नेविसंघका पूर्वमहामन्त्री कुन्दराज काफ्लेले पनि लकडाउनकै बीच बिहे गरेका छन् ।
-ratopati