बैशाख १५,
काठमाडौं । गृहमन्त्रालयले लकडाउनको समयमा पासबिनाका कुनै पनि सवारीसाधनलाई गुड्न नदिन निर्देशन दिएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पासबिनाका सवारीसाधन निस्किन थालेपछि गृहमन्त्री रामबहादुर थापाले यस्तो निर्देशन दिएका हुन्।
गृहमन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार अहिलेको समीक्षाका क्रममा लकडाउनलाई कडा बनाएकै कारण कोरोना फैलिन नपाएको निचोडसहित थप कडाइ गर्न निर्देशन दिइएको हो। थापाको निर्देशन अनुसार गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सोमबार परिपत्र गर्दै पासबिनाका कुनैपनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको हो। गृहले अब सडकमा अलपत्र परेकाहरुको उद्धार भइसकेको र उपत्यका छाड्नेजति गइसकेको निचोडसहित यस्तो निर्णय लिएको हो।