सूर्यविनायक नगरपालिकाको बजेटः नागरिकको घर दैलोसम्म स्वास्थ्य सेवा विस्तार गर्ने नीति

366

असार ८,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि कुल बजेट रु १ अर्व ४८ करोड रकम विनियोजन गरेको छ । नगरपालिकाको सातौं नगरसभाले कुल विनियोजन मध्ये चालु तर्फ रु १३ करोड ४० लाख, सामाजिक सुरक्षा रु ९ करोड, विषयगत शाखा रु ९ करोड ४५ लाख ९१ हजार, शसर्त कार्यका लागि रु ३१ करोड ८८ लाख ५९ हजार र पुँजिगत तर्फ रु ८४ करोड २५ लाख ५० हजार रकम विनियोजन गरेको नगरप्रमुख बासुदेव थापाको भनाई छ ।

विनियोजित बजेटमा साधारण खर्च ९ दशमलव ०५ प्रतिशत, सामाजिक सुरक्षा खर्च ६ दशमल ०८ प्रतिशत, विषयगत शाखाको ६ दशमलव ३९ प्रतिशत, शसर्त कार्यको लागि २१ दशमल ५४ प्रतिशत र पुँजिगत खर्च ५६ दशमलव ९४ प्रतिशत हुन आउँछ । नगरसभामा प्रस्तुत गरिएको बजेट आर्थिक बर्ष २०७६/०७७ को तुलनामा ११३ दशमलव ८५ प्रतिशतले वृद्धि हुन आउने ।

‘आर्थिक बर्ष २०७७/०७८ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नगरपालिकाको आन्तरिक श्रोतवाट रु ५८ करोड ५१ लाख ८२ हजार, प्रदेश सरकारको समानीकरण अनुदान रु १ करोड ११ लाख ८६ हजार, बागमती प्रदेश सरकारको सशर्त अनुदान रु ३ करोड ४४ लाख ५९ हजार, नेपाल सरकारको समानीकरण अनुदान रु २० करोड १० लाख रहेको छ,’ नगरप्रमुख थापाले भने ।

नेपाल सरकारको सशर्त अनुदान रु २७ करोड४४ लाख, नेपाल सरकार र बागमती प्रदेश सरकारको राजस्व वाँडफाँडको रकम रु १२ करोड २६ लाख ७३ हजार, सामाजिक सुरक्षा भत्ता रकम रु ९ करोड, जिल्ला समन्वय समितिबाट रु ६ करोड ४५ लाख र अन्य श्रोतवाट रु ६ करोड आय हुने अनुमान गरिएको नगरप्रमुख थापाले बताए ।

कृषि, शिक्षा, पर्यटन र पूर्वाधार : सूर्यविनायक समृद्धिको मूल आधार भन्ने नगरको मूल नारालाई साकार पार्दै सुन्दर नगरपालिका बनाउन सधै लागिपरेको उपप्रमुख जुना बस्नेतले जानकारी दिएकी छिन् । ‘नीति तथा कार्यक्रमबीच उचित तालमेल गरि आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण गर्दा नगरवासीले अनूभुति गर्न सक्ने गरी सुशासन र विकासलाई संस्थागत गर्ने प्रवन्ध मिलाएका छौं,’ उपप्रमुख बस्नेतले भनिन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख जुना बस्नेतले भनिन् ‘कोरोना संक्रमणको चुनौती विरुद्ध बस्तीस्तरबाट प्रतिरोध क्षमताको विकास गर्दै अगाडि वढ्न वडास्तरमा नै लक्षित वर्गका कार्यक्रमहरुको पहिलो प्राथमिकता स्वस्थ्य नगर, सुरक्षित नागरिक तर्फ उन्मुख गरिने छ ।’

उपप्रमुख बस्नेतका अनुसार सूर्यविनायक नगर अस्पताल, वडा स्थित नगर स्वास्थ्य संस्थाहरु पूर्ण क्षमतामा सञ्चालन तथा ब्यवस्थापन गर्दै कोभिड–१९ र अन्य संक्रामक रोगको रोकथाम तथा उपचारका लागि नगरवासीको आशा र भरोसाको केन्द्रको रुपम अस्पताललाई संचालन गरिने छ ।

नागरिकको घर दैलोसम्म नै सेवा विस्तार गर्दै लैजाने नीति नगरसभामा प्रस्तुत गरिएको छ । त्यसैगरि आम नागरिकका लागि आवश्यक औषधि नगर अस्पताल र नगर स्वास्थ्य संस्थामार्फत गत वर्षहरुमा जस्तै वर्षभरि नै निःशुल्क वितरणको प्रबन्ध मिलाइनेछ समेत नगरसभा जानकारी दिइएको छ ।