कविताः सहिदगेट

337
लेखकः राजकुमार लामिछाने

-राजकुमार लामिछाने
आज फेरि धोइ पखाली
नयाँ रंगका चमक हाली
साइडमा छ फुलमाला थाली
तयार छ मेरो सहिदगेट
किनकी
फेरि भयो रे नयाँ बहाली
सहिदको सपना पूरा भएछ
सदा झै फेरि यसपाली ।।

रंगमञ्च सजेको छ
साही बाजा बजेको छ
उहीँ तोपका उहीँ सलामी
साक्षी तिनै सपना उनै
फेरिएका छन त केबल मलामी
र पनि साक्षी एक मुख खोल्दैन
था रैछ मलामीलाइ ढुंगो बोल्दैन
त्यसैले बनेका छन ढुंगाका सालिक
चतुर छ तिनका सपनाका मालिक
र पनि,
तयार छ मेरो सहिदगेट
फेरि भयो रे नयाँ बहाली
सहिदका सपना पूरा भएछ
सदा झै फेरि यसपाली ।।

नारा उहीँ पारा उहीँ
पूरा नहुने कुरा उहीँ
चाहाना उहीँ बाहाना उहीँ
सधै भरिको सपना उहीँ
बदिलिएका छन त त्यही भवन मात्र
त्यो भवनको कोठा कोठाको कुर्सी
हो त्यो कुर्सीमा बस्ने पात्र
चरित्र उहीँ देखिने चित्र उहीँ
बाहिर देखिने कोट फरक
कहिल्यै नभरिने भुँडी भित्र उहीँ
झण्डा फरक भागबण्डा उहीँ
भाषण फरक सदा झै शासन उहीँ
र पनि,
तयार छ मेरो सहिदगेट
फेरि भयो रे नयाँ बहाली
सहिदका सपना पूरा भएछ
सदा झै फेरि यसपाली ।।

तेलकोट भक्तपुर