अब गण्डकी प्रदेशमा प्रवेश गर्न नपाइने

180

बैशाख ६,
कास्की । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका साथ पालना गराउन सो निर्णय गरेको बताइएको छ । प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा राखिने भएको छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरणकार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने र राहत वितरणमा असङ्गठित क्षेत्रका मजदुर, श्रमजीवी वर्ग र न्यून आय भएका व्यक्तिलाई निष्पक्ष वितरणका लागि प्राथमिकीरण गर्ने र सोको अभिलेख राखिने भएको छ । -रासस