बागमती प्रदेशको सिमाना शिल

810

बैशाख ३,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठनले कोरोना संक्रमण विस्तार भइरहेको अवस्थामा लकडाउनलाई निरन्तरता दिँदै बागमती प्रदेशका सीमाना संघीय सरकारसँग समन्वय गरी शिल गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । सो पाटीेका कमिटीका पदाधिकारीहरुको बैशाख १ गते बसेको विशेष डिजिटल बैठकले प्रदेश कमिटीलाई यस्तो निर्देशन गरेको हो ।

अध्यक्ष नारायण दाहालको अध्यक्षता र प्रदेश इञ्चार्ज अष्ट लक्ष्मी शाक्यको उपस्थितिमा बसेको बैठकमा सह इञ्चार्ज हितमान शाक्य, काशीनाथ अधिकारी र हितबहादुर तामाङको सहभागीतामा भएको थियो ।
१६ वटा निर्णय गरेको बैठकले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई दिँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको यस आर्थिक वर्षमा विकास निर्माणमा सम्झौता हुन बाँकी रकम कोभिड १९ कोषमा राख्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव समेत दिएको छ । बैठकले बागमती प्रदेशका १३ जिल्ला अध्यक्षद्वारा कोरोना भाइरसको संक्रमणबाट जिल्लामा देखिएको समस्या र प्रभावमा आधारित प्रतिवेदन अनुसार सरकार तथा पार्टीको निर्देशन अनुरुप जिल्लामा भए गरेका कामहरु सन्तोषजनक रहेको निश्कर्ष निकालेको छ ।

त्यसैगरी संक्रमणको कारण दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउने परिवार, असहाय, गरिव विपन्नको लागि कोही भोकै नमरुन भन्ने सिद्धान्तको आधारमा तीन तहका सरकारको समन्वयमा स्थानीयतह मार्फत आवश्यक राहत सहयोग व्यवस्थित र पारदर्शी ढङ्गले एकद्वार प्रणालीद्वारा वितरण गर्न निर्देशन दिदै विदेशबाट आएका, क्वारेन्टाइन र आसोलेशनमा बसेका र उनीहरुका आफन्त तथा सम्पर्कमा आएका व्यक्तिहरुको आरडिटी र पिसिआर परीक्षणको दायरा फराकिलो गर्न संघीय सरकार र प्रदेश सरकारलाई आह्वान गरेको छ ।

हालसम्म सघन उपचार कक्ष, भेन्टिलेटर र संक्रमित बिरामीको उपचारको लागि अति आवश्यक स्वास्थ्य सामग्री, दक्ष स्वास्थ्यकर्मीहरु नभएका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्लामा तत्कालै व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बैठकपछि बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।