बैशाख ३,
काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।
सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयावधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही गर्नेमहाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।
उनले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न हिँड्ने गरेको पाइएको भन्दै अब त्यस्ता सवारी साधनलाई ट्राफिक प्रहरीले निगरानी बढाउनुको साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने बताए । हालसम्म लकडाउन उल्लंघन गर्ने ८९७४ सवारी साधन होल्ड तथा १८४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएकोछ ।
त्यसै गरी लकडाउनको समयमा मादक पदार्थ सेवन गरि सवारी चलाउने २१ जना चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेकोछ । चेकजाँचको क्रममा ट्राफिक प्रहरीले पास भए नभएको अलवा पासको प्रयोग, अनुमतिप्राप्त व्यक्ति लगायत थप सोधपुछ समेत गर्नेछ ।