वेदास कलेजको आफ्नै सफ्टवेयरबाट ‘अनलाइन कक्षा’

235

चैत २६,
काठमाडौं । ललितपुरको जावलाखेलस्थित वेदास कलेजले अनलाइनबाट कक्षा सञ्चालन सुरु गरेको छ।
वेदासले आफ्नै सफ्टवेयर विकास गरेर आफ्ना विद्यार्थीहरुका लागि अनलाइन कक्षा सुरु गरेको हो। ‘हामीले आफ्नै सफ्टवेयरवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन सुरू गरेका छौं,’ कलेजका सिइओ कृष्णहरि पाण्डेले भने, ‘नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याउन पाउँदा हामीलाई गौरव महसुस भएको छ।’

कलेजले प्राविधिक पार्टनर एमपर्सेन्ट टेक्नोलोजीको सहकार्यमा ‘एमपर्सेन्ट क्लासरुम’ सफ्टवेयरको विकास गरेको जनाएको छ। सफ्टवेयरको माध्यमबाट आफ्ना विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमित अध्ययन अध्यापन गराउँदै आएको सीइओ पाण्डेले बताए। सफ्टवेयरमा कक्षा सञ्चालनका लागि आवश्यक सबै सुविधा रहेका छन्। यसमा सिमलेस अडियो र भिडियो कन्फरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधा छन्। यो सफ्टवेयरले प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र बाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्ने जनाइएको छ।

कलेजमा बिएससी, सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको पढाइ हुँदै आएको छ। कोरोना नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेसँगै सबै क्षेत्र जस्तै शिक्षण संस्था पनि ठप्प छन् । यस्तो बेला अनलाईन कक्षाले विद्यार्थीहरुलाई राहत हुने देखिन्छ ।