एफएम, टीभी र युट्युबबाट विद्यार्थीलाई पढाइने

193

चैत २१,

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा देश अहिले लकडाउनमा छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । सरकारले घर बाहिर ननिस्किन सबैलाई निर्देशन दिएको छ । यस्तो अवस्था कहिलेसम्म रहला भन्ने यकिन छैन । यदि लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रभावित हुनसक्ने भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरु पढाउने नयाँ तरिकाको तयारीमा जुटेका छन् ।

अघिल्ला वर्षहरुमा चैत दोस्रो साताभित्र विद्यालयका परीक्षा सकिन्थ्यो र विद्यालयहरु बन्द नै हुन्थ्यो । त्यसबीच उत्तरपुस्तिका जाँच्ने, नतिजा प्रकाशन गर्ने लगायतका तयारी हुन्थे । नतिजा प्रकाशित भइसकेपछि बैशाख १५ गतेसम्म नयाँ भर्ना लिइन्थ्यो । त्यसकारण अहिलेसम्म लकडाउनले शिक्षा क्षेत्रमा खासै प्रभाव परेको मानिएको छैन । लकडाउन कहिलेसम्म रहन्छ भन्ने यकिन नभएपछि मन्त्रालयका अधिकारीहरु पढ्ने/पढाउने विकल्पिक विधि खोज्न लागेका हुन् ।

‘स्थानीय एफएमबाट पढाउन सकिन्छ कि, टेलिभिजन च्यानलहरु, केबल टीभी अपरेटरहरुमार्फत् केही कार्यक्रम जान सक्छ कि । युट्युवमा केही सामग्री राखेर प्रत्यक्ष सवाल जवाफको व्यवस्था गर्न सकिन्छ कि, स्वअध्ययन सामग्री बनाएर दिन पो सकिन्छ कि भनेर अनेक विकल्पमा हामी छलफलमा छौं । यो अवस्था लम्बियो भने हामी यस्ता विकल्पहरु लागू गर्ने प्रक्रियामा जान्छौं,’ डा तुलसीप्रसाद थपलियाले भने ।

सिकाइका त्यस्ता विधिबारे जानकार जनशक्ति आफूहरुसँग रहेको पनि उनले बताए । ‘विगतदेखि नै हामीले केही न केही काम गरिरहेका छौं । मेरो नै कुरा गर्नुहुन्छ भने चार वर्ष मैले यस्तै क्षेत्रमा काम गरेँ । त्यसैले रेडियोलाई कसरी प्रयोग गर्न सकिन्छ, टीभीलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने अनुभवी जनशक्ति हामीसँग छ ।’

सरकारले नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको प्रयासमा १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा १८ चैतसम्म लकडाउन गरिए पनि त्यो अवधि थपेर अहिले २५ चैतसम्म पुर्‍याइएको छ । लकडाउन गर्नुअघि सरकारले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न र नयाँ भर्ना नलिन सबै विद्यालयहरु निर्देशन दिएको थियो । साथै एसईई परीक्षा सुरु हुनुभन्दा केही घण्टा अगाडि स्थगित गर्ने निर्णय गरिएको थियो ।