कोरोनाभाइरस: हामीलाई कोभिड-१९ बारे अझै थाहा नभएका कुरा के हुन्

165

चैत २०,
बीबीसी ।
धेरै समय भइसकेको जस्तो लागे पनि कोरोनाभाइरसबारे चर्चा हुन थालेको गत डिसेम्बर महिनादेखि हो। वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेको भए पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ। त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न विश्वभरि भइरहेका परीक्षणमा हामी पनि प्रत्यक्ष वा परोक्ष सहभागी भइरहेका छौँ।

तीमध्ये महत्त्वपूर्ण प्रश्नहरू यी हुन्।

१. कति मानिस सङ्क्रमित भएका छन्
यो सबैभन्दा आधारभूत प्रश्नमध्ये एउटा हो। तर यो निकै महत्त्वपूर्ण पनि छ।

विश्वभरि लाखौँ मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन्।

मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ। त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ।

२. यो कति घातक छ
कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभईकन मृत्युदर थाहा हुन सक्दैन।

अहिलेसम्म विश्वमा सङ्क्रण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ।

तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ।

३. कोरोनाभाइरसका लक्षणहरू
ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमणका मुख्य लक्षण हुन्। तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ।

केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा सुँघ्ने लिने क्षमतामा कमी आएको पनि पाइएको छ। विभिन्न अध्ययनले देखाएअनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन। उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ।