‘टिचिङ अस्पतालको भिभिआइपी क्याबिन ६०१ मा’

289
सांकेतिक तस्विरः वीर अस्पतालको भीआईपी क्याविन

फागुन २०,
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको भिभिआइपी वार्डमा भर्ना भएका छन्। उनलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ।

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ। उनलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्ने भएकी छिन्। उनी पनि अस्पतालमा भर्ना भएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्।

अस्पताल निर्देशक डा प्रेम खड्गीका अनुसार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्नेछन्। उनका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा दिव्या सिंह शाह, डा सुवाश आचार्य लगायत रहेका छन्। यस्तै उक्त टोलीमा दुई जना एनेस्थेसियाका डाक्टर र ८ जना नर्स तथा स्वास्थ्यकर्मी समेत रहने छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेका छन्।