तत्कालीन लोकतान्त्रिक फोरमको समायोजन अन्तिम चरणमा

59

फागुन ८,
काठमाडौँ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकीकरण गर्दा संगठनमा आफूले पाएको भागबण्डा अनुरुपका नामावली बुझाएको छ । गच्छदारका तर्फबाट तत्कालीन फोरमका केन्द्रीय सदस्य कृष्ण दुलालले मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उपसभापति विमलेन्द्र निधिलाई नामावली बुझाएका हुन् । निधि दुई पार्टी एकीकरणपछि संगठन समायोजनका लागि बनाइएको समायोजन समितिका संयोजक हुन् । २०७५ कात्तिक २० गते बसेको कांग्रेस केन्द्रीय समितिले बनाएको निधि संयोजकत्वको समायोजन समितिमा गच्छदार, सहमहामन्त्री प्रकाशशरण महत, महेश आचार्य र दीपक गिरी सदस्य छन् ।

नामावलीमा २ सय महासमिति सदस्य, ६ सय महाधिवेशन प्रतिनिधि र २२ जिल्लामा पार्टीले पाएको भागबण्डाका पदाधिकारी र सदस्यको नाम छ । त्यस्तै २२ जिल्लाका प्रतिनिधिसभा क्षेत्रीय समितिका पदाधिकारी र सदस्यहरुको नामावली पनि बुझाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले तत्कालिन लोकतान्त्रिक फोरमबाट संगठनका विभिन्न तहमा राख्ने नामावली प्राप्त भएको जानकारी दिए । ‘संगठन समायोजन समितिमा भएको सहमति अनुरुप तत्कालिन लोकतान्त्रीक फोरमबाट पार्टीका विभिन्न तहका संगठनमा राख्ने सदस्यहरुको नामावलीसहितको प्रतिवेदन प्राप्त भएको छ,’ पौडेलले ईकान्तिपुरसित भने, ‘त्यसलाई कार्यान्वयनको चरणमा लैजान उपसभापति विमलेन्द्र निधिबाट तोकादेश भएको छ ।’ समिति संयोजक निधिले प्रतिवेदन पाएलगत्तै कार्यान्वयनका लागि समायोजन समिति सचिव पार्टी केन्द्रीय कार्यालयका सचिव केशवप्रसाद रिजाललाई तोक लगाइदिएका छन् । प्रतिवेदनमा पार्टीको प्रदेश समिति र केन्द्रका सबै विभागमा पदाधिकारी र सदस्यको नाम पनि समावेश गरिएको छ ।

२०७४ असोज २९ गते कांग्रेससँग एकिकरण भएको लोकतान्त्रिक फोरमलाई केन्द्रमा उपसभापतिसहित ११ केन्द्रीय सदस्य दिने सहमति गरेको थियो । जसअनुरुप तत्कालिन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार कांग्रेसको उपसभापति बनेका छन् । सदस्य मनोनयन गर्ने ११ सदस्यको नामावली भने अझै गच्छदारले बुझाएका छैनन् । मंगलबार बुझाइएको प्रतिवेदनमा पनि केन्द्रीय सदस्यको नामावली समावेश छैन् । केहि दिनमा केन्द्रीय सदस्यको पनि नामावली बुझाइने गच्छदार स्रोतले जानकारी दियो ।

केन्द्रीय सदस्यबाहेक सबै भागवण्डा अनुरुपको नामावली गच्छदार समूहले बुझाएको हो । जिल्लामा समायोजन समितिमा भएको सहमति अनुसार संगठन हेरेर तत्कालिन लोकतान्त्रिक फोरमको जिल्ला सभापतिलाई उपसभापति वा सहसचिवसहित कार्यसमितिमा सदस्यहरु दिने सहमति भएको थियो । त्यही सहमति अनुरुप मोरङमा उपसभापति र सहसचिवसहित १७ जनाको नामावली बुझाइएको छ । मोरङमा उपसभापति भक्तिनाथ माझी र सहसचिवमा प्रदीपकुमार विश्वासको नाम सिफारिस गरिएको छ । त्यस्तै सुनसरीमा हरिलाल मेहता उपसभापति र देवनारायण मेहता सहसचिवसहित १३ जना, कैलालीमा विरुप्रसाद चौधरी उपसभापति र कलेशुराम चौधरीसहित १३ जना, बर्दियामा गोबिन्दप्रसाद थारु उपसभापति र महदेब चौधरी सहसचिवसहित ७ जनाको नाम जिल्ला कार्यसमितिमा राख्न प्रतिवेदनमा सिफारिस गरिएको छ ।

सप्तरीमा प्रभुनारायण चौधरी उपसभापति र दीपक गुप्ता सहसचिवसहित ७ जना, सर्लाहीमा रामवली राय उपसभापतिसहित ८ जना, दाङमा हिरालाल चौधरी उपसभापतिसहित ८ जना, पर्सामा राजकुमार गुप्ता उपसभापतिसहित ८ जना, काभ्रेमा गोविन्दबहादुर थापासहित ८ जना, झापामा देवीप्रसाद राजवंशी उपसभापतिसहित ६ जना, रुपन्देहीमा सरिताकुमारी चौधरी उपसभापतिसहित ६ जना, बारामा अमिरीलाल पाल राउत उपसभापतिसहित ४ जना, बाँकेमा फुलाराम थारु उपसभापतिसहित ४ जनालाई जिल्ला कार्यसमितिमा राख्न सिफारिस गरिएको छ ।
त्यस्तै ओखलढुंगामा शिवकुमार खड्का सहसचिवसहित ४ जना, सिरहामा बेचन महतो सहसचिवसहित ४ जना, धनुषामा नरेश यादव सहसचिवसहित ४ जना, रौतहटमा मनोज शर्मा सहसचिवसहित ४ जना, चितवनमा राजन कार्कीसहित ४ जना, कपिलवस्तुमा रामसमुज चौधरी सहसचिवसहित ४ जना, कञ्चनपुरमा पुस्कल चौधरी सहसचिवसहित ४ जना, उदयपुरमा विजयकुमार सिंह सहसचिवसहित ४ जना र महोत्तरीमा ललन सिंह सहसचिवसहित ३ जना जिल्ला कार्यसमितिमा राख्न सिफारिस गरिएको छ ।

समायोजन समितिमा बाँकी २७ जिल्लामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्यरआमन्त्रित गर्न सक्ने सहमति बनेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवस्यक परामर्श गरी निर्णय लिने सहमति बनेको समायोजन समितिका सदस्यहरु बताउँछन् ।