पुस १८,
नुवाकोट । नुवाकोटको बन्चरे डाँडाका स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । शहरी विकास मन्त्रीसहितको बन्चरेडाँडाको अनुगमनमा गएको टोलीसँग स्थानीयहरुले आफ्ना माग पुरा गर्न आग्रह गरेका छन् । २ वर्षका लागि सम्झौता भएपनि १४ वर्षसम्म फोहोर फालिएको र आफुहरुसँग गरिएको सम्झौताहरु पुरा नभएको स्थानीयहरुको गुनासो छ ।
स्थानीय आशिष ढुंगानाले जनताको हितमा काम नगरेसम्म फोहोर फाल्न नदिने बताए । उनले व्यवस्थित तरिकाले फोहोर फाल्न र जनतालाई प्रत्यक्ष असर पर्ने कुराहरुको व्यवस्थापन गर्न पनि आग्रह गरे । ‘हामीहरु बरु मर्न तयार छौँ तर फोहोर फाल्न दिँदैनौँ । यहाँको जनताको पनि गुनासो सुनियोस् । जनताको हितमा काम गरियोस्’, उनले भने, ‘फोहोर नै फाल्न नदिने भन्ने होइन तर व्यवस्थित तरिकाले फालियोस । यहाँको जनातालाई प्रत्यक्ष असर पर्ने कुराहरु व्यवस्थित गरियोस । जथाभावि तरिकाले फोहोर फाल्न दिँदैनौ ।’