नेकपा अध्यक्षद्वयलाई सभामुखको उम्मेदवार छान्न सकस

121

पुस ६,
काठमाडौं । संसदको हिउँदे अधिवेशन सुरु भइसक्दा पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि औपचारिकरुपमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । पूर्वएमाले र पूर्वमाओवादी खेमाले सभामुखका लागि आफ्नो दाबी नछाडेपछि यो विषयले निकास पाउन नसकेको हो । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पटक–पटक छलफल गरिसकेका छन् ।

तर, अध्यक्षद्वयले अझैपनि सर्वसम्मत् उम्मेदवार फेलापार्न सकेका छैनन् । यसको एउटैमात्र कारण हो, दुवै अध्यक्षलाई आ–आफ्ना पक्षका नेताहरुले दिएको दबाब । पूर्वमाओवादी पक्षका नेताहरुले एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष दाहाललाई दबाब दिँदै आएका छन् । उनीहरुले पार्टी एकता भएपनि पार्टीको संगठनात्मक काम नसकिएकाले एकता महाधिवेशनसम्म पुरानै सहमतिहरुलाई दोहोर्‍याउनुपर्ने सुझाव दिएका छन् । नेताहरुले कुनैपनि हालतमा सभामुख पद छाड्न नहुने अडान राखेका छन् ।

पूर्वमाओवादी पक्षधर नेताले एकतापूर्वको संवैधानिक अंगकाबीचमा भएको भागबन्डामा सभामुख पद पनि भएकाले पूर्ववत् समूहबाट छाड्न नहुने, स्थायी समिति सदस्यभन्दा तलका नेतालाई सभामुखमा पठाउन नहुने र प्रत्यक्ष निर्वाचित नेतालाई मात्र सभामुखमा लैजानुपर्ने प्रस्ताव गरेका छन् ।

सभामुखका लागि पूर्वमाओवादीबाट देव गुरुङ, पम्फा भुसाल र अग्नि सापकोटाको दाबी छ । यता, पूर्वएमाले पक्षले भने पार्टी एकता भइसकेकाले पुरानै भागबन्डाको विषयलाई उठाउन नहुने बताउँदै आएको छ । पूर्वएमालेपंक्तिले नयाँ पार्टी बनिसकेपछि नयाँ शीराबाटै अघि बढ्नुपर्ने बताएपनि उनीहरुको जोड अब सभामुख पद पूर्वमाओवादी पक्षका नेताहरुलाई दिन नहुनेमै केन्द्रित छ । यस्तो विचार राख्ने नेताहरुले प्रधानमन्त्री ओलीलाई यही दबाब दिएका छन् ।

सभामुखमा पूर्वएमालेपंक्तिबाट सुवासचन्द्र नेम्वाङको नाम चर्चामा छ । उपसभामुख डा। शिवमाया तुम्बाहाङफेले आफूलाई दाबेदारको रुपमा प्रस्तुत गरे पनि नेतृत्वले उनलाई सभामुख बनाउन चाहेको छैन । आ–आफ्ना पक्षका नेताहरुको दबाबपछि अध्यक्षद्वय ओली र दाहालले पनि अझैसम्म कुनै निर्णय लिन सकेका छैनन् । भागबन्डाकै किचलोले सभामुखका लागि नाम टुंग्याउन शीर्ष नेतृत्वलाई हम्मे–हम्मे परेको छ ।

गठबन्धन बनाएको बेला गरिएको भागबन्डालाई पार्टी एकतापछि पनि निरन्तरता दिनुपर्ने अडानले नेकपाभित्र भावनात्मक एकता अझै भइनसकेको संकेत गरेको छ । स्थायी समितिको बैठकमा पनि सभामुख चयन गर्न ढिलाइ गर्न नहुने भन्दै केही नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएपनि यो विषयले प्राथमिकता पाउन सकेन । अब पुस ११ गते प्रतिनिधिसभाको बैठक बस्दैछ र त्यही दिन सभामुखको निर्वाचन कार्यतालिका तय गरिने संसद सचिवालयले जनाएको छ । इमेज खबरबाट