संसद् सुरु: ११ पुसमा सभामुखको निर्वाचन प्रक्रिया सुरु हुने

117

नयाँ पत्रिका दैनिक
पुस ५, काठमाडौं । संघीय संसद्को बैठक सुरु भएको छ । शुक्रबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सुरु भएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेकी थिइन् । यसअघि उपसभामुखले बैठक सुरु गर्ने र अन्त्य गर्ने नियम थिएन । संसद्को प्रारम्भ र अन्त्य उपसभामुखले गर्ने कि नगर्ने भन्नेमा विवाद थियो ।

संसद् नियमावलीमा सदनको प्रारम्भ र स्थगन सभामुखले गर्ने उल्लेख छ । संसद् नियमावलीको नियम ४ मा भनिएको छ, ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछन् ।’ तर, सभामुखको अनुपस्थितिमा के गर्ने भन्नेबारे नियमावली मौन छ । संविधानको धारा ९१९४० मा भने प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्ने उल्लेख छ ।

शुक्रबार उपसभामुख तुम्बाहाम्फेको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । यसका लागि नियमावलीमा सभामुखले अध्यक्षता गर्ने मात्रै उल्लेख छ । नियमावलीको नियम १३९१० मा भनिएको छ, ‘बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहराएका अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा १७ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिनेछ ।’ बैठकले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गर्ने एजेन्डा तय गरेको थियो ।

प्रतिनिधिसभामा उपसभामुख तुम्बाहाम्फेले राष्ट्रपतिबाट अधिवेशन आह्वान र मन्त्रिपरिषद्को पुनर्गठनसम्बन्धी व्यहोराको पत्र पढेर सुनाएकी थिइन् । बैठकले पूर्वसांसदहरू हरि बैरागी दाहाल, कमलाकुमारी घिमिरे, रामलखन महतो, रामेश्वर ढुंगेलको शोक प्रस्ताव पारित गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै प्रतिनिधिसभा बैठक ११ पुसमा बस्ने गरी स्थगित भएको छ । बैरागी र महतो ०५१ सालमा तत्कालीन एमालेबाट क्रमशः संखुवासभा २ र धनुषा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । घिमिरे ०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाटै समानुपातिकतर्फबाट निर्वाचित सदस्य थिइन् । ढुंगेल ०७० सालको संविधानसभामा कांग्रेसबाट भक्तपुर–२ बाट निर्वाचित भएका थिए ।