Saturday, October 10, 2026
Home पत्रपत्रिका प्याज मिसनः बालुवामा पानी

प्याज मिसनः बालुवामा पानी

90

अन्नपूर्ण पोष्ट
असोज १५, काठमाडौं । नेपाल प्याज र यसको बीउमा परनिर्भर छ। करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध हुने मुलुक नेपालसँग प्याजको आफ्नै मौलिक बीउ पनि छैन। प्याजको बीउ र उत्पादनमा राज्यले लगानी नगर्दा नेपालीको भान्छामा बर्सेनि करोडौंको आयातित प्याज मात्रै पाक्छ। व्यापार घाटामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्याजको उत्पादन वृद्धि गर्न कृषि तथा पशुपन्छी मन्त्रालयसँग ठोस रणनीतिक पनि छैन। यसले गर्दा भारतले विभिन्न वहानामा प्याज निर्यात रोक्दा नेपालीको भान्छा खल्लो बन्ने गरेको छ। यो वर्ष पनि दसैंको मुखमै आएर भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उत्पादनमा जोड नदिँदा नेपालीलाई महँगोमा प्याज उपभोग गर्न राज्यले बाध्यपारेको नेपाल कृषि अनुसन्धान परिषद९नार्क० का पूर्वप्याज वैज्ञानिक डा।कृष्ण पौडेलले आरोप लगाए।

‘हामी लाछी नै छौं’, पौडेलले भने, ‘नेपालको कृषि क्षेत्रको इतिहासमा आजसम्म प्याजको मौलिक जात पनि विकास गर्न सकेनौं। सधैं आयातित बीउ र प्याजमै रम्यौं।’ आयातित रेड क्रियन नामको बीउलाई विकास गरी किसानलाई खेती गर्न सरकारले सिफारिस गरेको छ। यसबाहेक भारतको नासिक जातको आयातित बीउ दर्ता गरी तराईका किसानलाई खेती गर्न सिफारिस गरेको छ। उनले भने,‘तर आफ्नै मौलिक जातको बीउ हालसम्म नेपालले तयार पार्न सकेको छैन।’

प्याज र बीउमा परनिर्भर भएकै कारण नेपालीको भान्छामा वर्षमै साढे पाँच अर्बको आयातित प्याज पाक्छ। नेपालीको भान्छामा पाक्ने कुल प्याजको परिमाणमध्ये झण्डै ९८ प्रतिशत आयात हुन्छ। प्याजको बीउ र उत्पादनमा नेपाल परनिर्भर रहेको कृषि मन्त्रालयले पनि पुष्टि गरेको छ। बीउमा समेत नेपाल आत्मनिर्भर नभएको घुमाउरो रूपमा मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले स्वीकार गरेका छन्। यसका साथै आयात हुने प्याजको आयात घटाउने खालको कार्यक्रमसमेत नभएको उनले बताएका छन्।

सुवेदीले भने, ‘हामीसँग प्याजमा आत्मनिर्भर हुने योजना तत्काल छैन। यो वर्षदेखि प्याजको बीउ वृद्धि गर्ने कार्यक्रम थाल्नी गरेका छौं। बीउ वृद्धि हुन सक्यो भने प्याजको उत्पादन वृद्धि गर्न सहयोग हुन्छ।’ पौडेलका अनुसार नेपालमा प्याज वृद्धि गर्ने कार्यक्रम पनि सञ्चालन नभएको होइन। तर यो कार्यक्रमको नाममा लगानी भएको रकम बालुवामा पानी खन्याएजस्तै बनेको छ।