निर्माण सामाग्री बिक्न छोड्योः उद्योग समस्यामा

354

मंसिर २४,
वीरगंज। देशकै मुख्य औद्योगिक कोरिडोर वीरगंजका सिमेन्ट तथा डन्डी उद्योगीहरुले सरकारको अव्यवहारिक नीतिका कारण सबै किसिमका निर्माण सामग्री उत्पादन गर्ने उद्योगी मर्न थालेको आरोप लगाएका छन् । अहिले नेपाली बजारमा मन्दी छाएकोले निर्माण सामग्री उत्पादन गर्ने उद्योगी घाटाको व्यापार गर्न बाध्य भएको व्यवसायीहरूको भनाई छ। यसका लागि उनीहरूले सरकारलाई दोषी देखेका छन्। जगदम्बा सिमेन्टका सञ्चालक राजेश अग्रवालले सरकारको अव्यवहारिक नीतिका कारण नेपालमा निर्माण क्षेत्रमा लगानी गर्ने सम्पूर्ण उद्योग ठूलो मर्कामा परी धराशायी हुने दिशामा अघि बढेको बताउँछन् ।

‘छड, सिमेन्ट उद्योग मात्र होइन, लगभग सम्पूर्ण उद्योगको उत्पादन र बिक्री ठप्प हुँदै गएको छ,’ उनले भने, ‘छड सिमेन्टको मात्र मिडियामा बढि सुनिन्छ, तर एंगल, च्यानल, बिम, जस्तापाता, काटी,तार/जाली र पाइपलगायत सबै उद्योग घाटामा छन् ।’ व्यवसायीका अनुसार बैंकको ऋण र ब्याज बुझाउन समस्या भएपछि कतिपय उद्योग उत्पादन घटाएर सस्तोमा माल बेच्न बजार पुगेका छन्, तैपनि माल बिक्री भइरहेको छैन। कतिपय उद्योगको गोदाममा करोडौंको माल थन्किएर बसेको पनि उनीहरूको भनाइ छ ।

जगदम्बा स्टिलका सिइओ अनुराग शर्माले फलामजन्य समानको बिक्री इतिहासमै पहिलोपटक यो वर्ष निकै कम भएको बताए । उनले गत वर्षको तुलनामा चालू आवको पछिल्लो चार महिनामा करिब ४० प्रतिशतले बिक्री घटेको बताए । उनले भने,‘उद्योगहरू राम्ररी चलोस् भनेर सरकारले चाहेकै छैन । बजारमा पैसा नहुँदा निर्माण योजनाहरू भइरहेका छैनन् भने माग बमोजिमको उत्पादन क्षमता नेपाली फलामजन्य उद्योगको भए तापनि नयाँ उद्योगलाई पनि धमाधम स्थापना गर्न सरकार लागि परेको छ । पुरानै प्लेयर थुप्रै आए, ठूला आयोजना गति लिन सकेका छैनन् । अनि कसरी व्यापार होस् ? ’

चाचान समूहको नारायणी सिमेन्टका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले मागभन्दा उत्पादन धेरै भएकाले निर्माण सामाग्रीमध्ये सिमेन्टको बिक्रीमा कमी आएको बताए । ढुंगा, गिटी र बालुवा पाँच महिना पाइँदैन । चालू आवको साउनदेखि कात्तिकसम्म पुँजीगत खर्च हेर्ने हो भने ६.६ प्रतिशत देखिएको छ, उनी भन्छन्, जबकि पुँजीगत खर्च चार महिनामा ३० प्रतिशतको हाराहारीमा गरिसक्नुपर्थ्यो। उनका अनुसार नेपालमा वर्सेनि एक करोड टन सिमेन्टको माग रहेकोमा हालको दर्जनौ उद्योगले वार्षिक डेढ करोड टन सिमेन्ट उत्पादन गरिररहेका छन् । नेपाली सिमेन्ट उद्योगको क्षेत्रमा करिब डेढदेखि दुई खर्ब रूपैयाँको लगानी छ । नेपालमा गरिएको सिमेन्ट उद्योगको लगानी खेर जाने अवस्थामा पुगेको उनको विश्लेषण छ ।