Wednesday, September 23, 2026
Home समाचार मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरे कारवाही

491

मंसिर १,
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ । लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ । -रासस