Friday, September 18, 2026
Home पत्रपत्रिका गोठमा प्रहरी, सुरक्षा कसरी ?

गोठमा प्रहरी, सुरक्षा कसरी ?

101

अन्नपूर्ण पोष्ट
असोज १,
सुदूरपश्चिम प्रदेश ब्युरो । धनगढी स् जीर्ण र कच्ची भवन। पानी पर्दा चुहिन्छ। घाम लागे गर्मी हुन्छ। थुनुवा राख्ने ठाउँ छैन। कतिपय प्रहरी त रातभर अन्तै बास बस्छन्। कतै ठाउँ अभावमा पालो गरेर सुत्छन्। नागरिक सुरक्षाका लागि सुदूरपश्चिममा खटिएका प्रहरीले लामो समयदेखि भोग्दै आएको समस्या हो यो। भैंसीगोठ रङरोगन गरी चिटिक्क पारिएको छ। भित्र–बाहिर गर्दा टाउको ठोक्किन्छ। हरेक वर्ष त्रिपाल फेरेन भने पानी चुहिन्छ। बर्खामा सर्पको डर उस्तै। यो दृश्य अछामको रामारोशन–३ सान्तडास्थित प्रहरी चौकीको हो। यही भवनबाट प्रहरीले सुरक्षा दिँदै आएको छ।

यस्तो समस्या सुदूरपश्चिम प्रदेशका अधिकांश प्रहरी कार्यालयले भोग्दै आएका छन्। नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई कार्यालयको चिन्ता देखिन्छ। अभियुक्त ल्याउँदा त समस्या थपिन्छ। सान्तडामा थुनुवा राख्ने ठाउँ नरहेको प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकाया बताउँछन्। ‘तल भैंसी बाँध्ने र माथि गोठालो सुत्न बनाइएको गोठ हो यो’, उनले भने, ‘त्यसलाई रङरोगन गरी बस्न मिल्ने बनाएका छौं। थुनुवा ल्याए राख्ने ठाउँ छैन।’ कार्यालय सार्ने भनिए पनि स्थानीयको विरोधका कारण रोकिएको उनले सुनाए।

अछामकै ढकारी गाउँपालिकास्थित प्रहरी चौकी आठ दशक पुरानो जीर्ण घरमा छ। ‘भाडाको घर, बर्खामा चुहिन्छ। त्रिपाल हालेर बस्नुपर्ने बाध्यता छ’, प्रहरी नायब निरीक्षक मदनसिंह धामीले भने, ‘घर पुरानो भएकाले काठ खस्ला भन्ने चिन्ता लाग्छ।’ मेल्लेख गाउँपालिकामा उस्तै अवस्था रहेको प्रहरी सहायक निरीक्षक रमेशबहादुर बोहराले बताए। ‘पानी परेपछि बस्ने अवस्था हुँदैन’, उनले भने, ‘पाल हालेर जसोतसो बस्दै आएका छौं।’

अछाममा जिल्ला कार्यालयसहित सात इलाका, १२ चौकी, चार अस्थायी पोस्ट छन्। यीमध्ये जिल्ला प्रहरी, इलाका, प्रहरी चौकी साँफेबगर, चौखुट्टे र मंगलसेन प्रहरी चौकी मात्रै आफ्नो भवनमा छन्। गाउँका कार्यालय जीर्ण हुँदा सेवाप्रवाहमा समस्या रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले बताए। ‘जीर्ण भवनबाट शान्ति–सुरक्षाको काम गर्नुपर्ने बाध्यता छ’, उनले भने।
कैलालीको सुगरखाल प्रहरी भवन उस्तै जीर्ण छ। कच्ची घरमा जस्ताको छानो। भित्ता खुइलिनै लागेको। बेलुका सुत्न पालो पर्खिनुपर्ने। यहाँ २५ जनाको दरबन्दी छ।