आतंकवादलाई नेपालमा ठाउँ छैन : मन्त्री बाँस्कोटा

69

कात्तिक २२,
काठमाडौं : नेपाल सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालमा आतंकवादका लागि ठाउँ नभएको बताएका छन्। अमेरिकाले नेपालमा हिजबुल मुजाहिद्दिन लगायत अन्तर्राष्ट्रिय आतंकवादीको ट्रान्जिट हुने आशंकासहितको प्रतिवेदन सार्जनिक गरेको थियो। उक्त विषयमा सोधिएको प्रश्नमा मन्त्री बाँस्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादलाई स्थान नभएको र सरकारको नीति आतंकवादलाई प्रशय दिने नभएको बताए। अमेरिकी प्रतिवेदनप्रति सरकार जानकार रहेको बताउँदै मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार उनले भने, ‘आतंकवादबारे सरकारको बेखबर हुने नीति छैन। चुप लाग्ने नीति पनि छैन।’ उक्त प्रतिवेदनमा नेपालका बारेमा मात्रै उल्लेख नगरिएको भन्दै सरकारलाई लक्षित गरेर भइरहेका चर्चाबारे उनको असन्तुष्टि थियो। उनले भारत, पाकिस्तन, अमेरिका स्वयमको सुरक्षा रणनितीबारे प्रतिवेदनमा लेखिएकाले नेपालमा भने उक्त प्रतिवेदन ‘हाम्रो लागि मात्रै हो कि भनेझैँ चर्चा भएको’ उनको भनाइ थियो। मन्त्री बाँस्कोटाले भने, ‘आतंकवादप्रति नेपाल सरकारको नीति र व्यवहार स्पष्ट छ। त्यो भनेको नेपालमा आतंकवादलाई कुनै स्थान छैन भन्ने हो।’