रेखाको ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले’ गीत सार्वजनिक

140

कात्तिक २२
काठमाडौं : ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत गाएर अमर स्रष्‍टाको शृंखलामा परेकी गायिका रेखा शाहले आफ्नो नयाँ गीत ‘पछ्यौरी भिजायो, सिमसिमे पानीले…’ गीत सार्वजनिक गरेकी छिन्। हरि लम्सालको संगीत तथा भूपेन्द्र खड्काको शब्द रचना रहेको सो गीतमा प्रेम-प्रणयका पुरुष मनोभावलाई प्रस्तुत गरिएको छ। आफ्ना अघिल्ला गीतहरूजस्तै यो गीत पनि लोकप्रिय हुने र श्रोता तथा दर्शकको माया पाउनेमा आफू विश्वस्त रहेको गायिका शाह बताउँछिन्। भन्छिन्, ‘सिमसिमे पानीमाबाट सुरु भएको मेरो संगीतको यात्रा फेरि अर्को पानीकै विम्ब भएको गीतमा आइपुगेको छ। यो संयोग मात्र भए पनि गीत राम्रो भएकाले यो गीत गीतबाट मा धेरै आशावादी छु।’ विभिन्न शैलीका गीतमा संगीत सिर्जना गरिरहेका अहिलेका चर्चित संगीतकार हरि लम्साल भन्छन्, ‘मैले यो गीतमा भएका प्रेमिल टिपिकल शब्दलाई लोक संगीतसँग नजिक रहेर फ्युजन गर्ने कोसिस गरेको छु। मेरालागि पनि यो नौलो धून हो।’ गीतकार भूपेन्द्र खड्का भन्छन्, ‘हामीले सधैं गीतमा नारी सौन्दर्यका कुरालाई बयान गर्थ्यौ, यसपालि नारीका आँखाबाट पुरुषको प्रेम र प्रेम-चरित्रबारे गीत लेख्ने कोसिस गरेको छु। यो गीत नयाँ थिमको मात्रै छैन, साँच्चै रोचक पनि छ।’ गोविन्द राईको कोरियोग्राफी रहेको सो गीतमा नेपाली म्युजिक भिडियोमा अभिनयमार्फत तहल्का मच्चाइहेकी मोडेल अञ्‍जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ। नितिन चन्दले निर्देशन गरेको सो भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका हुन्।