कात्तिक २२,
धनगढी : नेपाली कांग्रेसले पूर्व राज्य मन्त्री तथा पूर्व सांसद पुष्करनाथ ओझासहित नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको छ। पूर्वराज्यमन्त्री ओझासहित स्पष्टीकरण सोधिएका व्यक्तिहरूले सङ्घीय निर्वाचनमा देउवा पत्नी आरजु राणा देउवालाई र प्रदेशका उमेदवारहरुलाई असहयोग गरेको आरोप लगाइएको छ। देशभरिमा एक हजार दुई सय नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिदा कैलालीमा ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिएको हो। कैलालीमा कारवाही पूर्व सोधिएको स्पष्टीकरणमा पर्नेमा क्षेत्र नम्बर ५ का नेता तथा कार्यकर्ता ७४ जना छन्। कैलाली क्षेत्र नम्बर–५ बाट राणा नेकपाका उम्मेदवार नारद मुनी रानासँग पराजित भएकी थिइन्। प्रदेश सभामा जीवन राना नेकपाकै नेपालु चौधरीसँग पराजित भएकी थिइन्। प्रदेश सभा क मा भने कांग्रेसका डिल्लीराज पन्तले नेकपाका रमेश धामीलाई हराएका थिए। कांग्रेसको गड भनिएको क्षेत्रमै कांग्रेस हारेपछि अन्तरघात भएको भन्दै पूर्व राज्यमन्त्री ओझा सहितलाई स्पष्टीकरण सोधिएको हो। २०७० सालका कांग्रेस सभापति देउवा डडेल्धुरा र कैलालीको धनगढीबाट निर्वाचन लडेर दुवै स्थानमा जितेका थिए। देउवाले धनगढी छोडेर डडेलधुरा रोजेपछि भएको उपनिर्वाचनमा पूर्व राज्यमन्त्री ओझाले टिकट पाएका थिए। उनले टिकट मात्रै पाएनन् जित समेत हासिल गरे। तत्कालीन अवस्थामा कांग्रेसले जितेको स्थानमा देउवा पत्नी राणा हारेपछि राज्यमन्त्री ओझाका नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधिएको हो। सङ्घीय तथा प्रदेश निर्वाचनको परिणाम आए लगत्तै धनगढीमा भएको नेता तथा कार्यकर्ताको समीक्षा भेलामा अधिकांश वक्ताले सङ्घीय संसदकी उम्मेदवार आरजु राणालाई हराउन असहयोग गरेको भन्दै पूर्व मन्त्री पुष्करनाथ ओझालगायतलाई तत्काल कारबाही गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका थिए। त्यस्तै नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवर, महासमिति सदस्य आनन्दराज जोशी, धनगढी वडा नम्बर ७ का पार्टी सभापति देव सेठी, धनगढी उप महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार राजबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ। उनीहरूलाई स्थानीय तहको निर्वाचनमा असहयोग गरेको आरोप लगाइएको छ।