मध्यमोदी जलविद्युत आयोजनको सुरुङ निर्माण कार्य ५ वर्षमा पूरा

96
सांकेतिक तस्विर

कात्तिक २१,
पर्वत : पर्वतमा निर्माणाधीन अवस्थामा रहेको मध्यमोदी जलविद्युत आयोजनको सुरुङ निर्माण कार्य ५ वर्षमा पूरा भएको छ। १५ मेगावाट बिद्युत उत्पादन क्षमता हुने गरी निर्माण भइरहेको आयोजनाको लागि २०७१ सालबाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। जलविद्युत आयोजनाका जनसम्पर्क प्रमुख अशोक आचार्यका अनुसार सुरुङ निर्माणको काम सकिएसँगै आयोजनाको ७५ प्रतिशत निर्माण कार्य पनि पूरा भएको छ। ‘२६ सय ९४ मिटर लम्बाईको यो सुरुङ बनाउन ५ वर्ष लाग्यो।’ उनले भने, ‘ यो निकै महत्त्वपूर्ण काम थियो। यो पूरा भएसँगै आयोजनाको करिब ७५ काम पनि पूरा भएको छ।’ सुरुङ निर्माणका क्रममा पटक पटक स्थानीय तथा प्रभावित क्षेत्रका बासिन्दाहरूले अवरोध गर्दै आएका थियो। सुरुङ निर्माण गर्ने क्रममा विस्फोट गराउँदा त्यसको कम्पनले घरहरू चर्किएको र हल्लिएको भन्दै क्षतिपूर्ति वा नयाँ घरको माग गर्दै स्थानीयले पटक पटक गरेको अवरोध र निर्माणकै क्रममा रहेको बेलामा भएको भारतीय नाकाबन्दीले काम ढिलो भएको पनि आचार्यले बताए। चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजना अधिकांश मुख्य कामहरू सकिएका छन्। वर्षाको पानीका कारण काम गर्न कठिनाइ भए पनि रोकिएको पावर हाउस बनाउने काम पनि अहिले चलिरहेको छ। २०७७ सालमा सम्पन्न गरी सक्ने गरी सम्झौता भएको आयोजना सम्पन्न गर्नको लागि २ अर्व ८० करोड रुपैयाँ लाग्ने अनुमान छ। कास्कीको अन्नपूर्ण गाउँपालिका ३ वीरेठाँटीमा बाँध रहने आयोजनाको पावर हाउस पर्वतको मोदी गाउँपालिका २ देउपुरमा बनिरहेको छ।