Monday, September 28, 2026
Home समाचार युवतीले ककपिटमा फोटो खिच्दा पाइलट जीवनभरका लागि निलम्बित

युवतीले ककपिटमा फोटो खिच्दा पाइलट जीवनभरका लागि निलम्बित

115

कात्तिक २०,
एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको थियो। फोटो पोष्ट गर्दै ती युवतीले लेखेकी थिइन्, ‘पाइलटप्रति अत्यन्तै अनुग्रहित छु, र असाध्यै उत्साहित पनि’ युवतीले फोटो पोष्ट मात्र के गरेकी थिइन्, चिनियाँ सोसल साइटमा आगो बलिहाल्यो। सबैभन्दा पहिले, उड्ययनसम्बन्धी ब्लग लेख्दै आएका एक चिनियाँ ब्लगरले जहाजको पहिचान गरे। थप बुझ्दै जाँदा एअर ग्विलिनको जहाज मध्यउडानमा छँदा पाइलटले ती युवतीलाई ककपिटमा निम्त्याएको खुल्यो। विवाद उत्पन्न हुनासाथ युवतीले फोटो डिलिट गरे पनि पाइलटमाथिको कारबाही रोकिएन। पाइलटको नाम गोप्य राखिएको उक्त एअरलाइन्सको विज्ञप्तिमा भनिएको छ, ‘हामीले नागरिक उड्ययनको नियम उल्लंघन गर्ने पाइलटलाई आजीवन निलम्बनको निर्णय गरेका छौं।’ साथै एअरलाइन्सले चालक दलका अन्य सदस्यमाथि पनि छानविन भइरहेको जनाएको छ।