अपहरणमा परेका बालकलाई सकुशल उद्दार

174

कात्तिक २०,
पर्सा : प्रहरीले बनेपाबाट गएको कार्तिक १० गते अपहरणमा परेका बालकलाई सकुशल उद्दार गरेको छ। अपहरणकारीमध्ये एकजनालाई खुट्टामा गोली हानी बालकको उद्धार गरेको हो। पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सिया घर भई काभ्रेको बनेपामा काम गर्दै आएका अम्जद खानको १४ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्दार गरेको हो। अपहरणकारीमध्ये फिरौती रकम लिन नेपाल आएका पर्साको पोखरिया नगरपालिका-६ सोनवरी बस्ने वर्ष २० का राजकुमार दासलाई भने प्रहरीले पर्साको सिर्सिया खल्वाटोलाबाट खुट्टामा एक गोली हानी नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा परेका दासले बच्चा राखेको ठाउँ बताएपछि अपहरित बालकलाई पनि पर्सा प्रहरीले भारतीय प्रहरीको समन्वयमा सकुशल उद्दार गरेको छ। पीडितले काठमाडौं अपराध महाशाखामा र पर्सामा दिएको उजुरीका आधारमा पिछा गरिरहेको प्रहरीले फिरौती बुझ्न आएका दासलाई एक गोली खुट्टामा हानी नियन्त्रणमा लिन सफल भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। अपहरणकारीले रकम दिन ल्यायो भनी पीडित खानको झोला खोसी हतियार देखाएर भाग्न थालेको समयमा दाहिने खुट्टामा गोली हानी पक्राउ गरियो उनले भने। अपहरणकारीले सुरुमा १५ लाखबाट सुरु गरेको वार्गेनिङ १२ लाखमा आएर नघटी फिरौती रकम पाउने आशमा रकम बुझ्न खोजेका थिए। तर प्रहरीले त्यो केसलाई फलो गरिराखेकोले अभियुक्तमध्ये एकलाई घाइते बनाई नियन्त्रणमा लिएको उनको भनाइ छ। घाइते दासले दिएको लोकेशनका आधारमा बालकलाई अज्ञातस्थलबाट सकुशल उद्दार गरियो प्रहरी उपरीक्षक राठौरले भने। गोली लागी घाइते भएकाबाहेक अरू पनि दुईजना अपहरणकारी घटनामा सम्लग्न भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए। अपहरित बालकको भने सुरक्षा दृष्टिकोणले नाम सार्वजनिक गरिएको छैन। घाइते दासको भने वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। पक्राउ परेकाबाट पेस्तोलसहित विभिन्न समान बरामद प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएका दासको साथबाट १ थान कटुवा पेस्तोल र त्यसका लाग्ने ४ थान गोली, अभियुक्त चढेर आएको बीआर २२ जे ०८०३ नम्बरको १ थान बजाज प्लाटिना मोटरसाइकल १ थान, मोबाइल १, र ब्लुटुथ इयरफोन १ थान र व्याग पनि १ फेला परेको पर्सा प्रहरीले जनाएको छ। चार थान गोली चाही प्रहरी नियन्त्रणमा परेका दासको पाइन्टको गोजीबाट फेला परेको पर्साका प्रहरी उपरिक्षक राठौरले बताए।