Sunday, September 27, 2026
Home राजनीति धनराजले भने : स्थानीय नेतालाई नै दिऊँ कास्की २ को टिकट

धनराजले भने : स्थानीय नेतालाई नै दिऊँ कास्की २ को टिकट

82

कात्तिक २०,
काठमाडौं : स्याङ्जाका कांग्रेस नेता धनराज गुरुङले कास्की क्षेत्र नम्बर २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले कास्की २ मा आफूलाई प्रस्ताव गरेको सन्दर्भमा गुरुङले यस्तो बताएका हुन्। कांग्रेस पदाधिकारीको राजधानीमा चलिरहेको बैठकमै पुगेर गुरुङले कास्की २ मा स्थानीय नेतालाई नै टिकट दिन आग्रह गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। कास्की २ का लागि सभापति देउवाले धनराज र महामन्त्री शशांक कोइरालाले खेम पौडेलको नाम प्रस्ताव गरेपछि विवाद चर्किएको थियो। तर २०७४ को निर्वाचनमा वाम गठबन्धनका रवीन्द्र अधिकारीसँग पराजित देवराज चालिसे पनि बलियो दाबेदारमध्ये एक हुन्। ‘उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चा क्रममा पदाधिकारी बैठकमै उपस्थित भएर उहाँ (धनराज गुरुङ) ले स्थानीय साथीहरूलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गर्नुभएको छ!’, शर्माले भनेका छन्। कास्की २ मा नेकपाले विद्या भट्टराईलाई टिकट दिइसकेको छ। साझा पार्टीबाट रजनी केसी चुनावी प्रतिस्पर्धामा छिन्। यहाँ साझाले कांग्रेसलाई आफ्नो उम्मेदवारलाई सघाउन प्रस्ताव गरेको छ।