Sunday, September 27, 2026
Home कृषि जंगली जनावरले बालीनाली सखाप, मर्कामा किसान

जंगली जनावरले बालीनाली सखाप, मर्कामा किसान

178

कात्तिक २०,
सोलुखुम्बु : जंगली जनावरले बालीनाली नष्ट गरेपछि सोताङ गाउँपालिका–१ का कृषकले क्षतिपुर्ति माग गरिरहेका छन्। साविक पावै–९ का हुलु, कुवापानी क्षेत्रमा किसानले लगाएको बालीनाली जंगली जनवारले नष्ट गरेको भन्दै राहतको मागसहित वडा कार्यालयमा निवेदन दिएका छन्। जगंलबाट आएका बाँदर, दुम्सी, घोरल र मृगले धान, मकै, कोदो, फापर, केरालगायतको बाली सखाप पारेको मेगबहादुर राईले गुनासो गरे। आम्दानीको मुख्य स्रोत कृषि भए पनि भित्र्याउनै नपाई सखाप पारिदिएको यस क्षेत्रका किसानहरुको गुनासो छ। पीडितहरुले वडा कार्यालयमार्फत स्थानीय सरकार र डिभिजन वन कार्यालयले राहतको व्यवस्था गर्न माग गरेका हुन्। करिब ४० घरधुरी रहेको उक्त क्षेत्रका स्थानीयले दिउँसो अन्नबालीको गोठालो गरे पनि राति क्षति पु¥याउने गरेको बताउँछन्। जंगली जनवारको गोठालो गर्न बालबालिका समेत प्रयोग गरिएको स्थानीय गीता कार्कीले जानकारी दिइन्। घरका अन्य सदस्य व्यस्त रहँदा बालबालिकालाई खेतबारीमा रुँग्न लगाउँदा पढाइ प्रभावित बनेको कार्कीले बताइन्। परिश्रम र मेहनको साथ लगाएको बालीनाली पाक्ने बेलानै नभई जंगली जनावरले खान थालेपछि खाद्यन्न संकट हुने चिन्ताले सताएको स्थानीयको भनाइ छ। वडा नम्बर १ का अध्यक्ष जंगबहादुर गुरुङले वडा कार्यालयमा निवेदन आएको बताउँदै राहतका लागि गाउँपालिका र वन कार्यालयसँग छलफल गर्ने बताए। सोलुदुधकुण्ड नगरपालिका, माप्यदुधकोशी, थुलुङदुधकोशी लगायतको माथिल्लो क्षेत्रमा बालीनाली पाक्ने बेलामा भालुको बिगबिगि हुने गर्छ। भालुले बर्सेनि मकै सखाप पर्ने भए पनि क्षतिपूर्ती नपाउने हुँदा किसान मारमा परेको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माका रामकाजी श्रेष्ठले बताए। खेतबारी बाँझो हुनेक्रम बढ्यो जंगली जनवारको बिगबिगी बढेसँगै किसानहरु चिन्तित बनेका छन्। पछिल्लो समय अधिकांश खेतबारी समेत बाँझो हुन थालेको छ। युवा शक्ति वैदेशिक रोजगारीमा जानु र बालीनाली जंगली जनवारले खाइदिँदा खेतबारी बाँझो बनेको स्थानीयहरु बताउँछन्।