पशुको कृतिम गर्भाधान गर्ने किसान बढ्दै

294
YASHICA Digital Camera

कात्तिक १९,
कञ्चनपुर : नश्ल सुधार गरिएका गाई भैंसीले दुध बढी दिने भएपछि शुक्लाफाँटा नगरपालिकाका पशुपालकहरु पशुको कृतिम गर्भाधानप्रति आकर्षित भएका छन्। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमै १८४ गाई र भैंसीमा कृतिम गर्भाधान गरिएको छ। नगरपालिकाको पशु विकास शाखाका पशु विकास अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोजमा गरी ११४ वटा गाई र ७० वटा भैंसीमा कृतिम गर्भाधान गरिएको छ। गत आर्थिक वर्षमा एक हजार ५० वटा गाई र ५०० भैंसीमा कृतिम गर्भाधान गरिएको थियो। कृतिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैंसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अधिकृत भट्टको बताए। उनले भने, ‘कृतिम गर्भाधान गराउने कार्य तीव्र रुपमा हुन थालेपछि दुधको उत्पादनमा समेत वार्षिक रुपमा ६ दशमलव ५ प्रतिशतका दरले बृद्धि हुँदै गएको छ।’ गाईमा कृतिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैंसीमा मुर्राको सिमेन राख्ने गरिएको छ। स्थानीय जातका गाई र भैंसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ। उन्नत नश्लका गाईभैंसी उत्पादन हुन थालेपछि व्यावसायिक रुपमा गाई र भैंसीका फर्म खोल्नेहरुको संख्या बढ्दै गएको छ।