आलम प्रकरण : ५० जना वकिलले बहस गर्ने

87

कात्तिक १९,
रौतहट : रौतहटको राजपुरमा बम बिष्फोट गराइ २३ जनालाई जिउँदै इँटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको केशमा बादी र प्रतिबादी दुवैतर्फबाट करिब ५० जना वकिलले बहस गर्ने भएका छन्। आलमको तर्फबाट मात्रै करिब २७ जनाले वकालत नामा लिएको बुझिएको छ। सरकारी वकिलको तर्फबाट पनि उतिकै संख्याका वकिलले बहस गर्ने भएका छन्। सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियुक्त आलमसहित १० जनाविरुद्ध सोमबार जन्मकैदको मागसहित मुद्दा दर्ता गरेको छ। आलमको बयान सकिएपछि सम्भवत मंगलबार नै बहस शुरु गर्ने जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिए। न्यायशधीशले मिसिल अध्ययन गरेपछि आलमको बयान हुने हुदा बहसमा ढिलाइ हुन सक्ने न्यायधीवक्ता कटुवालले बताए। बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रौतहटका सहन्यायधीवक्ता राम प्रसाद पन्थी, महान्याधिवक्ताको कार्यालय काठमाडाैंबाट आएका सूर्यराज दाहाल, अर्जुनप्रसाद कोइराला, सरकारी वकिल कार्यालय पर्साका न्याधिवक्ता रुद्र पन्थी र आफैले बहस गर्ने कटुवालले जानकारी दिए। यता बादीकैतर्फबाट वकिल युवराज संग्रौलासहितको ५ जनाको टोली र तत्कालीन नेकपा एमालेकातर्फबाट २०६४ सालको आलमका निकटतम प्रतिद्वन्द्वी शैलेन्द्र कुमार साहको तर्फबाट पनि ८/१० वकिलले बहस गर्ने चर्चा रहेको कटुवालले जानकारी दिएका छन्। २०६४ चैत्र २६ गते राति संविधान सभाको निर्वाचनमा बम बिष्फोट गराएको आरोपमा पक्राउ परेका नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री आलमसहित १० जनालाई जन्म कैद मुद्दा दर्ता भएको हो। आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दासहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको थियो। प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको थियो । प्रहरीले उच्च पदस्थदेखि घटनास्थल क्षेत्रका विभिन्‍न ३५ जना भन्दा बढीसँग बयान लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी कार्कीले जानकारी दिए। तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ गते राजपुरमा बम विस्फोटको घटना भएको बयान दिएका थिए।