आलु अघिल्लो वर्षभन्दा ५० प्रतिशत महँगो

198

मंसिर २४,
काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउ वर्षमा २ पटक महँगिन्छ । एउटा असोज–कात्तिकमा, र अर्को चैत–वैशाखमा । वर्षे तरकारीको स्टक सकिँदै जाँदा र हिउँदे तरकारी आइनपुग्दा असोज–कात्तिकमा तरकारीको बजारमूल्य निकै माथि पुग्छ । हिउँदे तरकारी रित्तिदा र वर्षे तरकारी पर्याप्त रुपमा उत्पादन नहुँदा चैत–वैशाखमा पनि तरकारी महँगो हुन्छ । अरु सिजनमा भने मौसम अनुसारका सस्तो हुन्छ । आलु र प्याजमा भने यो अवस्था अलिक फरक छ । दुई सिजनमा उत्पादन हुने र तत्कालै उपभोग गर्न नपर्ने भएकोले यी तरकारीको मूल्य वर्षमा एकपटक मात्रै महँगिन्छ । यो मूल्य साउनपछि विस्तारै उकालो लाग्दै जान्छ भने कात्तिक अन्तिमदेखि विस्तारै घट्दै जान्छ ।

तर, यसपालि यस्तो भएन । मंसिर महिना सकिनै लाग्दा समेत आलु र प्याजको भाउ घट्ने सुरसार देखिएको छैन । आलुको भाउ त अघिल्लो वर्षभन्दा ५० प्रतिशतसम्म महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको सर्भेक्षण अनुसार मंगलबार होलसेल बजारमा आलु रातोको भाउ प्रतिकेजी ६८ रुपैयाँ छ । त्यस्तै, भारतीय आलु रातोको र आलु सेतो प्रतिकेजी ६३/६३ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा बढी पर्न आउँछ । खुद्रा बजारमा मूल्य योभन्दा पनि बढी छ ।