कार्तिक ९,
तनहुँ । पछिल्लो समय तनहुँको भानु नगरपालिकामा चितुवा आतंक बढ्दै गएको छ । चितुवाले घरबाटै बालबालिकाको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका हुन् । भानु नगरपालिकामा पछिल्लो डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ४ जना घाइते भएका छन् । नियन्त्रणमा लिन नसक्दा दिनदहाडै गाउँगाउँमै आएर चितुवाले निरन्तर आक्रमण गरिरहेको हो ।
पछिल्लोे पटक विजयादशमीको दिन पिङ खेल्न गएका जामुनेगैह्राका ४ वर्षीय बालकको चितवनको आक्रमणबाट ज्यान गएको थियो । त्यसपछि जिल्ला प्रशासन र नगरपालिकाको समन्वयमा स्थानीय, जनपद र सशस्त्र प्रहरीले गस्ती गरिरहेका छ । चितुवा धेरैजसो साँझको समयमा बस्तीतर्फ आउने भएकाले त्रास फैलिएको स्थानीयको भनाइ छ ।
ठूलो संख्यामा सुरक्षाकर्मीले जङ्गलमा गस्ती गरे पनि शुक्रबार विहानसम्म चितुवा फेला परेको छैन ।चितुवालाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालयले जङगलमा दुई वटा फलामको पासो थापेका छन् भने स्थानीयले ९ वटा परम्परागत काठको पासो बनाएर राखेका छन् । चितुवा आतंक बढेपछि नगरपालिकाले अभिभावकलाई बालबच्चा एक्लै नछाड्न आग्रह गरेको छ । केही दिनअघि एउटा चितुवालाई पासोमा पारिए पनि आक्रमण नरोकिएकाले सो क्षेत्रमा चितुवाको बथानै हुन सक्ने स्थानीयको आशंका छ । चितुवाको आक्रमणबाट सुरक्षित बनाउन डिभिजन वन कार्यालय तनहुँले विभिन्न पहल गरिरहेको कार्यालयका प्रमुख केदार बराल बताउँछन् । पटकपटक गाउँघरमै आएर चितुवाले बालबालिकाको ज्यान लिने क्रम बढे पनि यसको विश्वसनीय समाधान भने हुन सकेको छैन । इमेज खबरबाट