नेपाल समाचारपत्र
कार्तिक ६, काठमाडौं। नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने विषयमा विवाद देखिएको छ। खासगरी लक्ष्मी पूजा, म्हः पूजा र भाइटीका कात्तिक १०, ११ र १२ गते कि ११, १२ र १३ गते मान्ने भन्ने विषयमा विवाद देखिएको हो। यसबारे उक्त समुदायका संस्कृतिविद्हरूले नै फरक–फरक तिथि बताएपछि सर्वसाधारण द्विविधामा परेका हुन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य दैवज्ञ जोतिष कीर्तिमदन जोशीले पनि उक्त पर्व १०, ११ र १२ गते मनाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार कात्तिक १० गते बिहान ११ः४५ पछि औंसी परेकाले सोही दिन बेलुकी लक्ष्मीपूजा र कात्तिक ११ गते बिहान ९ः४३ पछि प्रतिपदा परेकाले सोही दिन बेलुका म्हःपूजा गर्नुपर्छ भने कात्तिक १२ गते बिहान ७ः५१ पछि द्वितीया परेकाले सोही दिन भाइटीका लगाउनुपर्छ।
काठमाडौंमा परापूर्वकालदेखि नै जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार उक्त पर्व मनाइँदै आएको छ। यस्तै भक्तपुरमा तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार मनाइँदै आएको छ। काठमाडौंको जनबहालका पुजारी नवीन वज्राचार्यले सूर्योदय परेको तिथिलाई दिनभरि मान्ने चलनअनुसार ११ गतेदेखि १३ गतेसम्म क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाइटीका मनाउनुपर्ने धारणा राख्नुभयो।