खारेजीमा परेका म्यानपावर पनि ठगी धन्दामा सक्रिए

85

कार्तिक ५,
काठमाडौं । खारेजीमा परेको म्यानपावरले पनि कामदार विदेश पठाउने नाममा ठगी गरिरहेको भेटिएको छ । विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था वमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुले पनि कामदारसँग विदेश पठाउन पासपोर्ट र कम बुझेको भेटिएको हो । वैदेशिक रोजगार विभागले गत भदौ २९ मा सूचना प्रकाशित गरी त्यस्तो काम नगर्न दिएको निर्देशन विपरित कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको विभागले बताएको छ ।

काठमाडौं महानगरपालिका-४ चप्पलकारखाना ‘सी लिंक ओभरसिज’को इजाजतपत्र स्वतः रद्द भएपनि हाल सम्मसक्कल राहदानी र रकम फिर्ता नगरेको पाइएको छ । पीडित निमिका शेर्पा समेत ७ जनाले राहदानी र क्षतिपूर्ति रकम दिलाई पाउँ भनी दिएको उजुरीको आधारमा विभागले आकस्मिक अनुगमन टोली खटाएको थियो । अनुगमन टोली विगतमा म्यानपावरको कार्यालय रहेको भवनमा पुग्दा करिव ७०/८० जना व्यक्तिहरु वुझाएको राहदानी र रकम फिर्ता पाउने आशमा भवन परिसरमा कुरिरहेको पाइएको थियो । तर उक्त कम्पनीले विभागको निर्देशन विपरित हालपनि कार्यालय खडा गरी वैदेशिक रोजगारमा पठाईदिने भनी व्यक्तिहरुसँग रकम र राहदानी संकलन गरिरहेको अनुगमन टोलीको प्रारम्भिक अनुसन्धानमा फेला परेको छ । अनुगमन टोली आएको थाहा पाएपछि कम्पनीको संचालक भनिएका अनिस सुन्दास भन्ने व्यक्ति सम्पर्कविहिन भएको भएका छन् ।

राहदानी र व्यक्तिहरुले रकम बुझाएको प्रमाण भएका कागजातहरु सुरक्षित गर्नको लागि घर धनी र सुरक्षाकर्मीको रोहवरमा कार्यालय रहेको घरलाई सिलवन्दी गरिएको छ । यस भन्दा अघि पनि भदौ २४ गते वौद्ध प्रहरीले कम्पनीले संकलन गरेका करिव १५० जना व्यक्तिहरुको राहदानी सहित कम्पनीका कर्मचारीलाई वौद्ध क्षेत्रवाट नियन्त्रणमा लिई वैदेशिक रोजगार विभागमा मानिससहित राहदानी बुझाएको थियो ।

जसमाथि हाल विभागले विस्तृत अनुसन्धान गरिरहेको महानिर्देशक भीष्मकुमार भुसालले बताए । फरार संचालक बिरुद्ध विभागले कानूनी कारवाही अघि बढाएको उनले बताए । पछिल्लो समय धरौटी थप गर्न नसकी खारेजीमामा परेका कतिपय म्यानपावरले वैदेशिक रोजगारीमा पठाउने भनी सोझासाझा व्यक्तिहरुलाई झुक्याई राहदानी र रकम बुझ्ने काम गरिरहेको भन्ने मौखिक गुनासो प्राप्त भएको विभागले बताएको छ । सचेत रहन विभागले कामदारसमक्ष आग्रह गरेको छ । त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थाबारेमा जानकारी प्राप्त गर्ने जुनसुकै व्यक्तिले वैदेशिक रोजगार विभागमा जानकारी गराउन विभागले अनुरोध गरेको छ । त्यस्ता ठगी धन्दा चलाउनेहरु बिरुद्ध कानून बमोजिम हदैसम्मको कारबाही गर्ने तयारीमा विभाग रहेको महानिर्देशक भुसालले बताए । अनलाइन खबर