Thursday, October 1, 2026
Home समाचार यस्तो छ, सय वर्ष अगाडी नेपालमा निर्माण भएको सुरुङमार्ग( भिडियोमा हेर्नुहोस)

यस्तो छ, सय वर्ष अगाडी नेपालमा निर्माण भएको सुरुङमार्ग( भिडियोमा हेर्नुहोस)

322

कार्तिक ५,
काठमाडौं । आजभन्दा १०२ वर्ष पहिले नै नेपालमा गाडी गुडाउने गरी नै सुरुङमार्ग बनाइएको थियो । मकवानपुरको चुरियामाईमा रहेको यो सुरुङमार्गको भग्नावषेश अझैसम्म देख्न सकिन्छ । यसको संरक्षणमा सरकारको ध्यान गएको छैन । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो । सुरुङमार्ग खन्ने क्रममा चन्द्रशमसेरको सपनामा देवीले मेरो मार्गमा सुरुङ नखन्न भनेपछि क्षमा स्वरूप मन्दिर स्थापना गरेर सुरूङ खनिएको भन्ने किवंदन्ती छ ।

सोमबार नागढुंगामा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘सडक तथा बाटामा यो पहिलो टनेल हो । राजमार्ग र बाटोको सन्दर्भमा यस प्रकारको टनेलको सुरुआत गरेका छौं । योजना, प्रविधिको विकासको नयाँ मार्ग र तरिकाले हामी नयाँ उचाईमा पुगेका छौं, अर्को फ्डको मारेका छौं ।’ के साँच्चै नागढुगा सुरुङमार्ग नेपालका सडकमा बन्न लागेको पहिलो सुरुङ मार्ग नै हो त ? सडक विभागका अधिकारीहरु यसलाई सुरुङमार्ग युगको पुनर्जीवन मान्छन् । किनभने, हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँको सडक अहिले पनि केही उकालो छ । त्यसैले सडक पीच नगरी कंक्रिटमात्र छ । त्यसकै समीपमा सय वर्षअघिको ऐतिहासिक सुरुङ मार्गको भग्नावशेष देख्न सकिन्छ ।

 

तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौं उपत्यका बाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङ मार्ग खनाएको थियो । र, त्यही सुरुङ मार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पुर्‍याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङ मार्ग छिचोल्दै पुग्थे ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो । सडक छेउमा देखिएका सुरुङका मुखहरु थुनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको मुख्य भाग भने अझै सग्लो अवस्थामै छ । सडकपारिको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

कस्तो छ सुरुङ ?

सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । यो सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ ।
चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङ मार्गबारे चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।
जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ । अहिले हेटौंडा उपमहागरले यसको संरक्षणका लागि पहल थालेको छ । पहाड नै खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् ।

ऐतिहासिक सुरुङ

पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरिसकेको छ । सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ । मन्दिरका पुजारीका अनुुसार चन्द्रशम्शेरको पालामा बनेको यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाका पनातिरपनातिनाहरु यसको अवलोकनमा बेलाबखत पुग्छन् । उनीहरुले त्यहाँ थापाको शालिक स्थापना गर्ने योजना बनाएका छन् ।

यसलाई मर्मत गरेर व्यवस्थिथत गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना पटक–पटक बनेको छ । तर, संरक्षणका लागि प्रभावकारी योजना नबन्दा समस्या छ । पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने माग स्थानीयबासीको छ । सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र र फोटोहरु सजाएर यसलाई खुला गर्नुपर्ने उनीहरु बताउँछन् ।

चुरे पर्वतको काखमा रहेको यो सुरुङमार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको बताउँछन् चुरियामाईका स्थानीय श्यामकुमार बम्जन । गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन । तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए । तत्कालीन पाले वीरबहादुर ब्लोनका नाति रामका अनुसार पालेघरहरुले गाडी अएपछि झण्डा हल्लाएर जनाउ दिने गरेको हजुरबावाट सुनेको बताउँछन् । यो सुरुङमार्ग बनेको करिब सय वर्षपछि बल्ल नेपालले सडकमा सुरुङमार्गको आवश्यकता महसुस गरेको छ । -अनलाईन खबरबाट