हिले पनि उस्तै छ राजपुरमा आलमको आतंक

81

कात्तिक २,
रौतहट : पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बनाउने क्रममा विस्फोट भइ घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै हालेर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद आफतान आलम अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कडा निगरानीमा रहेका आलमको आतंक अहिले पनि उस्तै छ। इँटाभट्टामा जिउँदै पोलिएका युवाहरूका परिवार आलम छुटेपछि आफूहरूको पनि उनको समुहले ज्यान लिन सक्ने भन्दै त्रस्त छ। जघन्य अपराधमा प्रहरी हिरासतमा रहेका पूर्वमन्त्री आलम यदि अदालतबाट छुटेमा आफूहरू असुरक्षित हुने पीडित परिवारले बताएका छन्। बमकाण्डमा कान्छो छोरो त्रिलोकी प्रताप सिंह गुमाएका यमुनामाई गाउँपालिका-४ निवासी ७९ वर्षीय पिता श्रीनारायण सिंहले अहिले पनि आलम र उनका गुण्डाहरूको डर त्रासमा बस्नु परेको बताए। पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका ४ (साविक राजपुर-४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइतते भएका यमुनामाई गाउँपालिका-४ (साविक सरुअठा-४) का त्रिलोक प्रसाद सिंह (पिन्टु) ओसी अख्तरलाई इँटा बनाउने चिम्नी भट्टामा जिउँदै जलाएको आरोपमा कांग्रेसका संघीय सांसद आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो। आलमलाई जमानतमा छुटाउन शक्तिकेन्द्रको चलखेल भइरहेका बेला पीडितहरू त्रसित छन्। मृतक त्रिलोकीका बुवा श्रीनारायण सिंह त्रासमा बाँच्न बाध्य एक गाउँले हुन्। ‘यदि आलम प्रहरीबाट छुटे भने रोक्सना खातुनलाई जसरी हामीलाई पनि मारिदिन्छ’, श्री नारायण भन्छन्, ‘यहाँ (रौतहट) का न्यायमूर्तिलाई यस्तो गलत निर्णय नगरिदिन आग्रह गर्दछु।’