नेपाल-चीन सम्बन्ध ‘नयाँ उचाइमा’

382

अन्नपूर्ण पोष्ट
असोज २७, काठमाडौं । नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्‍याउन चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ। राष्ट्रपतिको सीको भ्रमण समापन भएकै दिन सोमबार जारी १४ बुँदे संयुक्त वक्तव्यमा भ्रमणले नेपाल–चीन सम्बन्धमा राजनीतिक विश्वास आर्जन र सम्बन्ध प्राथमिकीकरण गर्न सफल भएको उल्लेख छ। भ्रमणले पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको वक्तव्यमा छ। वक्तव्यअनुसार राष्ट्रपति सीको भ्रमणले दुई मुलुकबीचको सदियौंको सम्बन्धलाई थप क्रियाशील बनाएको छ। सीले भूपरिवेष्टित नेपाललाई भूजडित तुल्याउन मद्दत गर्ने घोषणा र त्यसका आधारले दुई देशको सहकार्य थप बढ्ने आशा पनि वक्तव्यमा छ। ‘समस्यारहित नेपाल–चीन सम्बन्धमा भ्रमणले नेपालको समृद्धिको यात्राका लागि चीन भरपर्दो साझेदार बनेको छ,’ वक्तव्यमा छ।

सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणामा चीनले सहयोग गर्ने जनाएको छ। त्यसका लागि लगानीदेखि अन्य पाटोको खोजी हुने पनि उल्लेख भएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणादेखि विगतमा भएका सम्झौता र आगामी दिनमा गर्नुपर्ने आधारहरू समेत १४ बुँदेमा उल्लेख छ। नेपाल अतिकम विकसित मुलुकबाट आगामी ११ वर्षभित्र माथि उठिसक्नुपर्ने विषयलाई चीनले गम्भीरतापूर्वक लिँदै त्यसको आधारमा सहयोग गर्ने विषय संयुक्त वक्तव्यमा छ। तर, त्यसका लागि राष्ट्रपति सीले काम गर्न अनुशासनको विषयलाई उठाएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपति सी दुईदिने भ्रमणमा शनिबार काठमाडौं आएका हुन्। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि भएको हो। भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी भण्डारी, प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। उनको नेतृत्वमा सत्तारुढ दल नेकपाका सचिवालय नेताले सीसँग द्विपक्षीय वार्ता भएको छ।
नेपालको राजकीय भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताइएको छ। समृद्धितर्फको नेपालको यात्रामा सघाउन तथा भौतिक पूर्वाधारको अभाव हटाउन सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसँगै सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुलाई भ्रमणको महत्वपूर्ण उपलब्धिको रूपमा सरकारले लिएको छ।