छ माया छपक्कै को दुइ दिने व्यापार कति

177

असोज २७,
काठमाडौं । यस बर्षको प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । दशैंको अन्त्यतिर रिलिज यो फिल्मको व्यापारलाई लिएर व्यापक चर्चा थियो । फिल्म रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ । अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । फिल्मिखबरसंगको कुराकानीमा उनले शनिवारको व्यापार रेकर्ड तोड रहेको जनाएका छन् । रिलिजको पहिलो दिन शुक्रबारको ग्रस कलेक्सन १ करोड ५५ लाख आसपास रहेको बताएका उनले दोश्रो दिन शनिवारको कलेक्शन १ करोड ९० लाख आसपास रहेको बताए । जसमा उनि आफै सदस्य रहेको एफडि कम्पनीको रिपोर्टमा काठमाडौँ उपत्यका बाहिर ९० लाख देखिएको बताए ।

गिरीले दिएको रिपोर्टलाइ मान्ने हो भने अहिलेसम्मकै ठुलो दुइ दिने व्यापार हो । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन । राजनैतिक विषयलाई उठान गरिएको यस चलचित्रलाई दर्शकले रुचाएका छन् । दीपेन्द्र लामाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ भने कथा दीपेन्द्र लामाको हो भने पटकथा दीपकराजले तयार गरेका हुन् । ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’को संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता रोहित अधिकारी हुन् ।